युभेन्टसका पूर्व अध्यक्ष जियोभन्नी गिग्लीका अनुसार पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डो युभेन्टसले गरेको महँगो गल्ती रहेको बताएका छन्। आफू क्लबमा भएको भए पाँच पटकका ब्यालुन डी ओर विजेतालाई क्लबका कहिल्यै नभित्र्याउने भन्दै सिजनको अन्त्यमा रोनाल्डोलाई बेच्न क्लबलाई सल्लाह दिएका छन्।

रियल म्याड्रिडमा एतिहासिक ९ वर्षको खेलजीवनलाई पूर्णविराम दिँदै २०१८ मा रोनाल्डो १०० मिलियन डलरमा युभेन्टस गएका हुन्। आफ्नो खेलस्तर ३६ वर्षको उमेरमा पनि घट्न नदिएका रोनाल्डोले इटालियन महारथीको लागि ठूलो सङ्ख्यामा गोल गरेका छन् तर उनले ओल्ड लेडीलाई च्याम्पियन्स लिग भने जिताउन सकेका छैनन्, जसको लागि युभेले रोनाल्डोलाई अनुबन्ध गरेको थियो।

रोनाल्डो युभेको लागि गलत विकल्प हो भनेर सोध्दा जिग्लीले रेडियो पन्टो नुभोलाई भने, “बिल्कुल, हो! मैले त पहिलो दिनबाट नै भनिरहेको छु। उनी च्याम्पियन खेलाडी हुन् तर निकै महँगा छन्। अब यो सब युभेन्टसमा निर्भर छ। क्लबले रोनाल्डोलाई धेरै महँगो रकम तिरिरहेको छ।”

उनले आउँदो समरमा क्लबले रोनाल्डोलाई बेच्नु पर्ने सल्लाह समेत दिएका छन्। उनले भने,”क्लाबले रोनाल्डोलाई सिजनको अन्त्यमा बेच्नुपर्छ र [फाबियो] प्याराटीसीलाई पनि हटाउनु पर्छ।”

रोनाल्डोले युभेन्टसका लागि १२१ खेलमा ९२ गोल गरिसकेका छन्। उनले इटालियन च्याम्पियनको साथमा २ सेरी-ए उपाधि जिते पनि क्लबले च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गर्न सकेको छैन। रोनाल्डोलाई अनुबन्ध गरेपछि युभे च्याम्पियन्स लिगको सेमी-फाइनलमा पनि पुग्न सकेको छैन।

