काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी लगायतलाई एमालेमै बस्न सुझाव दिएका छन्।
शुक्रबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई आफ्नैले धोका दिएको भन्दै बादल-रायमाझी सहितका नेताहरुलाई एमालेमै बस्न सुझाव दिएका हुन्।
बुटवलमा पार्टी कार्यकर्ताहरु माझ बोल्दै प्रचण्डले अहिले केपी ओलीतर्फ लागेका नेताहरुलाई सहयोग गरेर आफूले गल्ती गरेको बताए। वास्तवमा सहयोग गर्ने नेता कार्यकर्ताको साटो अरुलाई साथ दिँदा आफूले धोका पाएको प्रचण्डको भनाई छ। पहिला पनि पार्टी फुटाएर गएका बादललाई पुनः मौका दिएर गल्ती गरेको प्रचण्डले बताए।
“त्यत्रो बदमाशी गरेकालाई गृहमन्त्री बनाएर पठाएको अहिले त यस्तो।”,उनले भने,”बाबुरामजीसँग वैचारिक संघर्ष हुँदा जे होस् टोपबहादुर (रायमाझी) ले साथै दिए भनेर लगेको, सहयोग गर्ने भनेको त यो गरिदिए।”
केही साथीले बादललगायत नेतालाई फकाउन सुझाव दिएको भएपनि आफूलाई फकाउन मन नलागेको प्रचण्डले बताए। पार्टीमा फर्किएको खण्डमा फेरी भाडभैलो शुरु हुने प्रचण्डको भनाई छ।
“जाऊ तिमीहरु नभएकै जाति, साँच्ची फकाउन पटक्कै मन छैन, साथीहरुले तपाईंले भने फर्किने भनेका छन् भन्छन् तर मैले चाहिँ भो ती फर्किनुपरेको छैन, उतै जाउन् भनेको छु।”,प्रचण्डले भने,”ति यहाँ आए भाडभैलो हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ । आफ्नै साथीहरु अन्यायमा परेजस्तो हुन्छ ।”

