काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहितका नेताहरुलाई कारवाहीको तयारी गरेका छन्। सो विषयमा ओलीले छलफल समेत अगाडी बढाइसकेका छन्।
पार्टी र सरकार विरुद्ध लागेका नेताहरुलाई कारवाही गर्ने भन्दै ओलीले पार्टीमा छलफल चलाएका हुन्। आफ्नै पार्टीको सरकार गिराउने प्रयास गरेकाहरुलाई त्यतिकै छाड्न नहुने भन्दै ओली कारवाहीको मनस्थितिमा पुगेको बताइएको छ।
शुक्रबार मात्रै ओलीले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएका थिए। आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर ओलीले माधव नेपाल पक्षका नेताहरुलाई हटाएका हुन्।
ओली निकट श्रोतका अनुसार ओलीले शुक्रबार नै माधव नेपाल लगायतका नेताहरुलाई अनुशासनको कारवाही गर्न खोजेका थिए। तर, सुवास नेम्वाङ, विष्णु पौडेललगायतले तत्काल कारवाही गर्न नहुने बताएपछि कारवाही रोकिएको थियो। नेम्वाङ सहितका नेताहरुले तत्काल कारवाही गर्ने भन्दै पनि माधव नेपाल पक्षका नेताहरुको गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए।
माधव नेपाल सहित झण्डै एक दर्जन नेताले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन खोजेको ओलीको आरोप छ।
माधव नेपाल भन्छन् – हामी आत्तिएका छैनौं
ओलीले आफू सहितका नेताहरुलाई जिम्मेवारीबाट हटाएपछि माधव नेपालले आफूहरु केपी ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिरहने बताएका छन्। शनिबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्नेक्रममा नेता नेपालले ओलीको क्रियाकलापले अलिकति पनि विचलित नहुने बताएका हुन्।
ओली प्रवृत्तिविरुद्ध निराश नभई अगाडी बढ्नुपर्ने उनले बताए। नेपालले भने,”हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न। अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका साथबाट अगाडि बढनुपर्छ। जनताको अपेक्षा र विश्वास छ। सैद्धान्तिक सोच र धारणाबाट हामी अगाडि बढ्नुपर्छ।”

