ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य नगर्ने पक्षमा उपेन्द्र यादव !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीसँग सहकार्य गर्न नसकिने बताएका छन्। नेकपा माओवादी केन्द्रसँग छलफल गरेर बाहिरिने क्रममा यादवले केपी ओलीसँग सत्ता सहकार्य हुन नसक्ने बताएका हुन्।

पहिला ओली क्याबिनेटमा समेत रहेका यादवले संसद विघटन गरेर व्यवस्था माथि नै प्रहार गर्ने ओलीलाई साथ दिन नसकिने उनले स्पष्ट पारे। माओवादी केन्द्रसँग शनिबार कोटेश्वर पेरिसडाँडामा भएको छलफलपश्चात उनले माओवादी केन्द्रसँग सहमति नजिक आफूहरु पुगेको बताए।

ओलीलाई सरकारबाट हटाउने विषयमा तीन दल सहमति नजिक पुगेको उनको भनाई छ। उनले भने,”ओलीको सर्वसत्तावाद परास्त गर्ने विषयमा छलफल भएको छ, बैठक सकारात्मक छ, ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य हुँदैन।”

प्रधानमन्त्री ओलीले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत विषयलाई कार्यान्वयन गरेको अवस्थामा पनि साथ दिन नसकिने यादवले बताए। त्यस्तो अवस्थामा ओलीलाई धन्यवाद मात्र भन्न सकिने उनको भनाई छ।

ओली नेतृत्वको सरकार हटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू सहमति नजिक पुगेको उल्लेख गर्दै यादवले छिट्टै आफूहरु निस्कर्षमा पुग्ने पनि बताए।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१४:५५

नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने