काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको ओली र नेपाल पक्षबीच छलफल केहि समय अघि मात्र सकिएको हो। उक्त बैठकमा आन्तरिक एकताको विषयमा छलफल भएको बताइएको छ।
बैठकमा माधव नेपाल पक्ष प्रधानमन्त्री तथा अध्यक्ष ओलीले फागुन २८ गते गरेको निर्णय स्वीकार नगर्ने अडानमा रहेका छन्। बैठकपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै माधव नेपाल पक्षका नेता रघुजी पन्तले आफ्नो पक्षले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताएका छन्।
“वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। हामीले आफ्ना अडान राख्यौं,” नेता पन्तले भने। ओलीले फागुन २८ गते नेपाल पक्षलाई केहि खबर नै नगरी बालुवाटारमा २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनित गर्नेदेखि विधान संशोधनसम्मका निर्णय गरेको भन्दै आफूहरूलाई उक्त निर्णय स्वीकार्य नभएको उनको भनाइ छ।
बैठकमा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए भने माधव नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भएका थिए।

