काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमा पार्टी सञ्चालन गर्ने ज्ञान नभएको आरोप लगाएका छन्।
शुक्रबार अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्नेक्रममा गौतमले पार्टी सञ्चालन गर्ने ज्ञान ओलीमा कम रहेको बताए। पार्टी सञ्चालन गर्ने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ अगाडी रहेको गौतमले बताए।
पार्टी एकता भएपछि केपी ओलीले कम्युनिष्ट पार्टीको सिद्धान्त विपरीत व्यवहार गरेको आरोप पनि गौतमले लगाए। लामो समय जेल बसेपछि एकै चोटी केन्द्रीय कमिटीमा पुगेका कारण ओलीमा ज्ञान कम रहेको उनको भनाई छ।
“लामो समय जेल बसेपछि एकै चोटी केन्द्रीय कमिटीमा पुग्नु भयो। त्यसैले उहाँसँग कुनै ज्ञान नै भएन। कार्यकर्ता संरक्षण र प्रवर्द्धनमा कुनै ज्ञान छैन। उनीभन्दा प्रचण्ड धेरै अब्बल छन्। पार्टी सञ्चालनको ज्ञानका लागि म केपी ओलीलाई सयमा जिरो र प्रचण्डलाई १० नम्बर दिन्छु।”,गौतमले भने। पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली जिम्मेवार रहेको गौतमले बताए। ओलीपछि प्रचण्ड जिम्मेवार रहेको गौतमको तर्क छ।
फेरी पार्टीलाई एक बनाउनुपर्ने बताउँदै गौतमले भने,”पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली छन्। त्यसपछि प्रचण्ड हुन्। अब हामी पार्टी एक पार्न अगाडि बढेर लाग्नुपर्छ।”
त्यस्तै गौतमले पार्टीमै रहेर ओली विरुद्ध लड्नुपर्ने पनि बताएका छन्। ओलीले शनिबारका लागि डाकेको केन्द्रीय समितिको बैठक आफू उपस्थित हुने जानकारी गराउँदै गौतमले माधव-झलनाथ पक्षलाई पनि बैठकमा उपस्थित हुन आग्रह गरे।
“भोलिको बैठकमा सबै जाऔं। म पनि जान्छु। त्यहीँ गएर ओलीविरूद्ध लडौं, पार्टीमा सबैले गुटबन्दी बन्द गरौं। नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ। त्यसकारण हामीले यसलाई जोगाउनुपर्छ”,उनले भने।