काठमाडौँ – नेपाल चिया विकास निगमले प्राथमिक सेयर (आइपिओ) बिक्री गर्ने तयारी गरेको छ। निगमले सर्वसाधारणका लागि छिट्टै आइपिओ जारी गर्ने तयारी गरेको हो।
निगमको बोर्ड बैठकले आइपिओ जारी गर्ने सम्बन्धमा निर्णय गरिसकेको छ। चैत ६ गते बसेको कम्पनीको १५४ बोर्ड बैठकले शेयर जारी गर्ने विशेष प्रस्ताव आउँदो साधारण सभामा लैजाने निर्णय गरेको निगमले जनाएको छ।
नेपाल चिया विकास निगममा नेपाल सरकारको पनि स्वामित्व छ। निगममा नेपाल सरकारको ३५ प्रतिशत शेयर रहेको छ भने निजी क्षेत्रको ६५ प्रतिशत शेयर रहेको छ। निगमको चुक्ता पूँजी २० करोड रुपैयाँ छ।
आइपिओ जारी गर्ने योजनामा आफूहरु रहेको बताएपनि निगमले के-कति जारी गर्न लागिएको हो भनेर खुलाएको भने छैन। उक्त विषय साधारण सभामै टुंगो लगाइने निगमले जनाएको छ।
नयाँ वर्षको अवसरमा भक्तपुर औद्योगिक तथा व्यापार मेला आयोजना
नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७÷७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए। उनका अनुसार मेला आगामी चैत २७ देखि वैशाख ७ गतेसम्म १२ दिनसम्म हुनेछ ।
उनले सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार मेला आयोजना हुने मेलामा १५० भन्दा बढी स्टल रहने बताए। मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् । मेलाका संयोजक दीपक थापाले मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिए।
मेलामा अटोमोबाइल, अन्तर्राष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहने छन् । मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै उनले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने जानकारी दिए। करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने अनुमान गरिएको संयोजक थापाले जानकारी दिए।
मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने आयोजक मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिए। विगत वर्षमा झँै यस वर्ष पनि क्यान्सर र मिर्गौलापीडित बिरामीलाई आर्थिक सहयोग गरिने छ ।
मेलामा बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडियाघर, बालबालिकाका खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हाँस्यव्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने बज्राचार्यको भनाइ छ । मेलामा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन् ।