काठमाडौँ – छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारावालाले औंल्याएका छन्। आइतबार भारतबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
भारतमा कोरोना संक्रमण दर बढे पनि नेपालले खासै तयारी नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको भनाइ छ। जोखिम रोक्न सीमानाकामा अनपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरबाही भइरहेको देखिएको उनले बताए। ‘बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ’, उनले चिन्ता प्रकट गर्दै भने। अन्तर्राष्ट्रिय विमानास्थलमा समेत लापरबाही भएको उनले बताए। ‘जोखिममा रहेका देशबाट आएका पर्यटकलाई समेत होटेल क्वारेन्टिनमा नराखी सीधै समुदायमा जान दिएको पाइएको छ’, उनले भने।
भारतमा दोस्रो चरणको कोरोना फैलिएको र कतिपय राज्यमा लकडाउनसमेत भइसकेको छ। त्यहाँ कार्यरत नेपाली घर आउँदा संक्रमणको जोखिम बढ्न सक्ने शुक्रराज अस्पताल अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुन बताउँछन्। ‘गत वर्ष पनि भारतमा संक्रमित बढ्नेबित्तिकै नेपालमा संक्रमण फैलिएको थियो, अहिले पनि भारतमा रहेका नेपाली फर्किंदा संक्रमित भएर आउने सम्भावना छ’, पुनले भने। भारतबाट दैनिक आउने गाडीका चालक र सहचालकबाट पनि संक्रमणको जोखिम बढेको उनले औंल्याए। कोरोना संक्रमण फैलिन नदिन बलियो संरचना बनाएर तयारी अवस्थामा बस्न सरकारलाई पुनको सुझाव छ। पुनका अनुसार गत वर्ष संक्रमण फैलिँदा जुनजुन निकाय सक्रिय भएर लागेका थिए, ती निकाय र नाकाका हेल्थ डेस्कले परीक्षण, क्वारेन्टिन व्यवस्था बलियो बनाउनुुपर्छ।
पुनले उपचारमा खटिने अस्पताल र जनशक्तिलाई पनि तयारी अवस्थामा राख्नुपर्ने बताए। विशेषगरी काठमाडौं उपत्यकामा विभिन्न माध्यमबाट भारतीय तथा नेपाली भित्रिने हुँदा उनीहरूको परीक्षण र कन्ट्याक्ट टे«सिङलाई प्रभावकारी बनाउनुपर्छ। गत वर्ष भारतबाट आउनेकै कारण संक्रमण दरमा वृद्धि भएकाले अहिले पनि उच्च तयारी गर्नुपर्ने उनले बताए। भारतमा अहिले फैलिएको कोरोना भाइरस कुन प्रजातिको हो भन्ने विषयमा निक्र्योल नभइसकेकाले यसको असर कुन तहमा पर्छ भन्न सकिने अवस्था छैन।

