इटालियन च्याम्पियन युभेन्टसका प्रबन्ध निर्देशक फबिओ पाराटिसीले रोनाल्डोलाई सिजनको अन्त्यमा क्लब छोड्न अनुमति नदिने बताएका छन्। गत केहि हप्तादेखि रोनाल्डोको निकै आलोचना हुन सुरु भएको थियो र उनले सिजनको अन्त्यमा युभे छाड्ने धेरैले अनुमान गरिरहेका छन्।
यस्तोमा युभेन्टसका प्रबन्ध निर्देशक फबिओ पाराटिसीले अर्को सिजन रोनाल्डोले युभेन्टसले नछाड्ने बताएका छन्। “हामीले क्रिस्टियानो रोनाल्डो युभे मै राख्ने निर्णय गरेका छौं। उनी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् र हामीले उनलाई क्लबमा राख्न जोड दिएका छौं,” निर्देशकले भने, “हामीसँग एक प्रोजेक्ट छ जुन हामीले गत सिजनबाट शुरू गरेका थियौं, एउटा नाराम्रो खेलले हाम्रो दृष्टिकोण वा हाम्रो रणनीति परिवर्तन गर्दैन।”
च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा पोर्टोसँग पराजित भएसँगै रोनाल्डोको निकै आलोचना हुँदै आएको थियो। रोनाल्डोले पनि युभे छाड्न चाहेको रिपोर्ट समेत आएको थियो।
यस्तोमा रोनाल्डो रियल म्याड्रिड फिर्ता हुन सक्ने केहि रिपोर्टले जनाएका थिए भने रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदान जिदानले यसबारे सकारात्मक प्रतिक्रिया दिएका थिए।
त्यस्तै, पीएसजी पनि रोनाल्डोलाई अनुबन्ध गर्ने योजना बनाइरहेको बताइएको थियो।