काककुल राजधानीबासीलाई मेलम्ची, आइतबारबाट धारामा पानी !

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट थोक वितरण प्रणाली (बीडीएस)मा छाडिने भएको छ । आजबाट विस्तारै विस्तारै गरेर शनिवार रातिसम्म ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरिने भएको हो । आइतबार विहानबाट उपत्यकाका केही स्थानमा रहेका स्थानीयका धारामा मेलम्चीको पानी आउनेछ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

राजधानीबासीलाई तीन चरणमा गरेर पहिलो पटक मेलम्चीको पानी वितरण गरिने भएको छ । चैत १५, १८ र २१ गते तीन क्षेत्रमा पहिलो पटक पानी वितरण गरिने र त्यसपछि दैनिक रुपमा वितरण हुने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने कार्यको औपचारिक शुरुवात चैत २० गते हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले विधिवत् उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनले भृकुटीमण्डपमा जडान गरिएको नयाँ धाराको टुटी खोलेर मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

उद्घाटन अगावै मेलम्चीको पानी भने उपभोक्ताले प्रयोग गरिसक्ने छन् । आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची उपआयोजना अन्तर्गत आयोजना निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले बताए ।

मेलम्ची खानेपानी विकास समितिले शुक्रबार चार बजेदेखि नै थोक वितरण प्रणाली (बीडीएस) लाई पानी छाड्न थाल्नेछ । बीडीएसले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले छाडिने पानीको परिमाण क्रमशः बढाउँदै लगिनेछ । ‘सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र वितरण प्रणालीबीच तादात्म्यता (सिंक्रोनाइजेशन) गर्नुपर्ने भएकाले अलिअलि गर्दै पानी छाडिनेछ,’ श्रेष्ठले भने, ‘पानीको प्रवाह कतिसम्म गर्न सकिन्छ, त्यो हेर्नैपर्ने हुन्छ ।’

मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला ट्यांकी) निर्माण सम्पन्न भएको छ । १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको भन्दै आयोजनाले ती पोखरीको परीक्षण सम्पन्न भएको जनाएको छ । अब तिनै पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पानी वितरण गरिनेछ । आरुबारीमा ८ हजार ५ सय, बाँसबारीमा ९ हजार ५ सय, महांकालमा ८ हजार, खुमलटारमा ९ हजार ५ सय, बालाजुमा ७ हजार, भक्तपुरको टिगनीमा ३ हजार, महाराजगन्जमा ७ हजार ५ सय, कीर्तिपुरमा ६ हजार र धोबीघाटमा ८ हजार ५ सय घनमिटर क्षमताको पोखरी निर्माण भइसकेको छ । कटुन्जेमा ६ हजार घनमिटर क्षमताको पोखरी निर्माण भइरहेको छ ।

निर्देशनालयले चैत १५ मा चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेको छ । त्यस दिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ । श्रेष्ठका अनुसार चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताको घरमा पानी आपूर्ति हुनेछ । साढे आठ करोड लिटर पानीको परीक्षण र आपूर्ति गरेको दुई सातापछि मात्रै भक्तपुरमा मेलम्चीको पानी जानेछ । अन्य ठाउँमा केयूकेएलको पुरानो पाइपमार्फत परीक्षण गर्दै पानी आपूर्ति गरिने श्रेष्ठले बताए । ‘मेलम्चीको पानी आइसकेपछि नै पुरानो (केयूकेएलको पाइप) र नयाँ पाइपको परीक्षण हुनेछ,’ उनले भने ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालेको दुई सातापछि मात्रै दैनिक १७ करोड लिटर वितरण प्रणालीमा छाडिने तयारी छ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भए पनि मेलम्ची चालू भएपछि आधाभन्दा बढी माग सम्बोधन हुनेछ । ‘कुनै घरमा थोरै, कुनैमा धेरै पानी वितरण हुँदैन,’ उनले भने, ‘आधुनिक प्रणालीबाट वितरण गरिन्छ ।’ त्यसैगरी १ लाख १२ हजार नयाँ धारा जडान भइसकेका छन । बाँकी रहेका धारा जडान कार्य पनि तीव्र रूपमा अघि बढिरहेको उनले बताए ।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७०९:३६

जसपाको ग्रिनसिग्नल, ओली झनै शक्तिशाली !