सालाह र एम्बाप्पे साटफेरको चर्चा !

एजेन्सी – फुटबल ट्रान्सफर बजारमा अहिले सबै भन्दा बढी चर्चा पेरिस सेन्ट जर्मेन(पीएसजी)का किलियन एम्बाप्पेको छ। उनी कता जालान् भन्नेमा सबैको चासो छ।

एम्बाप्पेको नाम विभिन्न क्लबसँग जोडिदै आएको छ। विशेष गरेर उनको नाम स्पेनिस महारथी रियल म्याड्रिडसँग जोडिने गरेको छ। रियल म्याड्रिड एम्बाप्पेले सबै भन्दा बढी मन पराएको क्लब रहेको बताउने गरिन्छ।

तर एम्बाप्पे लिभरपुल जान सक्ने सम्भावनालाई पनि नकार्न नसकिने फुटबल ट्रान्सफरका जानकारी हरु बताउँछन्। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप एम्बाप्पेलाई लिएर सकारात्मक रहेको र एम्बाप्पेले पनि क्लोपको प्रशिक्षणमा खेल्ने चाहना राखेको बताइन्छ।

एम्बाप्पे लिभरपुल जाने सामान्य चर्चा गरिने भएपनि अहिले आएर केहि फरक खबर आएको छ। पछिल्लो खबरका अनुसार एम्बाप्पेलाई लिएर पीएसजी र लिभरपुल बीच साटफेर सम्झौता हुन सक्छ। लिभरपुलमा असन्तुष्ट रहेका भनिएका मोहमद सालाह पीएसजी जाने र एम्बाप्पे लिभरपुल आउने विषयमा कुरा चलिरहेको छ।

ट्रान्सफर बजारको विषयमा पत्रकारिता गर्ने डन्कन क्यासलका अनुसार पीएसजीका मालिकहरु पनि सालाहलाई लिएर सकारात्मक छन्। कतारी लगानीकार्तहरु सालाहलाई पीएसजी ल्याउने कुरालाई लिएर सकारत्मक मात्र नभई गम्भीर पनि रहेको डन्कनको भनाई छ।

एम्बाप्पेलाई बेच्ने निर्णय भएको खण्डमा उनलाई प्रतिस्थापन गर्ने खेलाडी चाहिने र त्यो खेलाडी सालाह भन्दा राम्रो कोहि नहुने डन्कन बताउँछन्। मेस्सी पीएसजी जाने सम्भावना कम हुँदै गएको अवस्थामा पीएसजीका लागी सालाह उत्कृष्ट विकल्प हुने उनले बताए।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१४:५२

“मेस्सी अझै केहि वर्ष बार्सा मै बस्छन्”