हालाण्ड माथि नजर रहेका बार्सिलोना, रियल, सिटि सबैलाई डर्टमण्डको कडा झड्का !

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमण्डले आफ्ना स्टार खेलाडी अर्लिङ ब्राउट हालाण्डको रिलिज मूल्य तोकेको छ। युरोपमा विभिन्न क्लबले हालाण्डमा चासो राखेसँगै डर्टमण्डले हालाण्डको रिलिज मूल्य तोकेको हो।

ईएसपीएनको एक रिपोर्ट अनुसार डर्टमण्डले हालाण्डको मूल्य १ सय ८० मिलियन युरो तोकेको छ। अब हालाण्डलाई अनुबन्ध गर्न चाहने कुनै पनि क्लबले त्यति धेरै रकम तिर्नुपर्नेछ। डर्टमण्डले तोकेको मूल्य धेरै नै रहेको र उक्त रकम युरोपका कुनै पनि क्लब तिर्न असमर्थ रहने ईएसपीएनले जनाएको छ।

हाल कोरोना भाइरस संक्रमणका कारण युरोपका कुनै पनि क्लबले उक्त रकम तिर्न नसक्ने ईएसपीएनको विश्लेषण छ। हालाण्डलाई क्लबमै राख्ने रणनीतिका साथ त्यति धेरै मूल्य तोकिएको हुन सक्ने अनुमान पनि ईएसपीएनको छ।

यस अगाडी डर्टमण्डले जाडोन सान्चोको हकमा पनि त्यस्तै गरेको थियो। गत वर्ष डर्टमण्डले सान्चोको मूल्य १ सय २० मिलियन युरो तोकेको थियो।

जुन रकम तिर्न युरोपका कुनै पनि क्लबले इच्छा देखाएका थिएनन्। जस पश्चात सान्चो डर्टमण्डमै अडिएका थिए। हालाण्डलाई पनि डर्टमण्डमै अड्याउन यति धेरै मूल्य तोकिएको बुझिएको छ।

एफसी साल्जबर्गबाट ​​जर्मनी आएयता हालाण्ड लगातार उच्च प्रदर्शन गर्दै आएका छन्। उनले डर्टमण्डका लागि ४९ गोल गरिसकेका छन्। यस सिजन मात्रै उनको ३२ गोल छ।

हालाण्डका एजेन्टको दावीलाई मान्ने हो भने हालाण्ड युरोपका १० क्लबको प्राथमिकतामा छन्। म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाइटेड, चेल्सी, रियल म्याड्रिड, बार्सिलोना र बायर्न म्युनिख जस्ता ठूला क्लब हालाण्डलाई भित्र्याउने होडमा रहेका छन्।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१७:३१

के रोनाल्डोलाई फुटबल जगतको ‘गोट’ भन्न मिल्ला ?