पार्टी भित्रै रहेर संघर्ष गर्ने सोचमा नेपाल पक्षका नेताहरु !

काठमाडौँ – नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरू त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन्। सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुसी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

नेपाल समूहका नेताहरूले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो। त्यसपछि विवाद झनै उत्कर्षमा पुगिरहेकै बखत नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक पार्टीभित्रै बसेर संघर्ष गर्ने निक्र्योलमा पुगेका छ। शुक्रबार र शनिबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।

अधिकांश केन्द्रीय सदस्यहरूले व्यक्तिवाद र अवसरवादसँग लडाइँ लड्ने, व्यक्तिवादसँग जोडिएर आएको अवसरवादजस्ता विषयसँग सजग रहनुपर्ने धारणा राखेका छन्। तर बैठकमा केन्द्रीय सदस्य डा.विजय पौडेलले भने पार्टीभित्र बसेर केपी ओलीसँग संघर्ष गर्न नसकिने भन्दै राजनीतिक प्रतिवेदन पेस गरे। उनले ओली समूहमै विद्रोह हुन सक्ने सम्भावनासहितको प्रतिवेदनमा नेकपाकै पुरानो सांगठनिक संरचनामा फर्कनुपर्ने धारणासमेत राखेका छन्।

‘हाम्रो समूहले इज्जत नामक नाक जोगाउन राखेका साना, झिना, मसिना सर्त पनि केपी शर्मा ओलीले मान्नुहुन्न। त्यहाँ गएर न त नवौं महाधिवेशनका नीति लागू गर्न सकिनेछ, न त आउने निर्वाचनमा जनताका असल प्रतिनिधिले चुनाव लड्ने टिकट नै पाउनेछन्,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘ओलीको नेतृत्वमा महाधिवेशनको नाटक हुनेछ र केही देखाउने प्रयोजनबाहेक आम रूपमा सही कम्युनिस्टहरूलाई बढारेर मिल्काइनेछ।

बिन्ती, अनुरोध र प्रार्थनाबाट तानाशाहको मन पग्लिँदैन। कसैमा केपी ओलीको हृदय परिवर्तन गराउन सकिन्छ भन्ने लाग्छ भने त्यो कुरा मृगमरिचिका मात्रै हो।’ पौडेलको धारणाप्रति अधिकांश नेताले असहमति प्रकट गर्दै तत्काललाई पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने धारणा राखेका थिए। ‘सबैको मत नेकपा एमालेको एकता कायम राख्नुपर्छ, एकता कायम राख्ने बिन्दु २०७५ जेठ २ अघिको अवस्था नै हो। आजको अवस्थामा विभाजन वा समर्पण पनि होइन,’ बैठकमा केन्द्रीय सदस्य ठाकुर गैरेले भनेका थिए।

प्रकाशित : आइतबार, चैत १५, २०७७०९:३७

रिट्ठेभिरमा सेतीदेवीलाई किन ऐना चढाउने गरिन्छ ? यस्तो रहेछ कारण !