काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले “नेपाल भ्रमण वर्ष २०२०” सफल पार्न विदेशमा रहेका नेपालीको समेत विशेष सहयोग आवश्यक पर्ने बताएका छन् ।
बिहिबार लुम्बिनी विकास कोषको विशेष बैठकमा सहभागी हुने क्रममा बुटवल पुगेका मन्त्री भट्टराईले विदेशमा बसेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए २०२० मा ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका हुन् ।
उनले विदेशमा बसेका नेपालीले सरकारको चर्को आलोचना गर्ने गरेको बताउदै त्यसो गर्नुको सट्टा नेपालमा पर्यटक पठाउन आग्रह गरेका हुन् । सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ?’, मन्त्री भट्टराईले भने, ‘बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् । यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं ।’
सरकार विकासको काममा अगाडी बढ्न नसकेको आरोप लागिरहेको अवस्थामा मन्त्री भट्टराईले सरकार सही दिशामा रहेको तर गति मात्र कम भएको धारणा व्यक्त गरेका थिए ।