“कांग्रेसको निर्णयपश्चात नेपालको राजनीतिले कोल्टे फेर्यो”

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक अवस्था फेरिएको बताएका छन्।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र नयाँ सरकार निर्णयमा भूमिका खेल्ने निर्णय गरेपछि प्रचण्डले शनिबार नेपाली राजनीतिको अवस्था फेरिएको बताएका हुन्।

शनिबार कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले अब छिट्टै नेपालमा राजनीतिक परिवर्तन हुने बताए। केहि दिनमै राजनीतिले कोल्टे फेर्ने र नयाँ सरकार बन्ने प्रचण्डको दावी छ।

“हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल लिने भनेर हिजो निर्णय लिएपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ।”,प्रचण्डले भने।

शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

प्रकाशित : शनिबार, चैत २१, २०७७१५:४०

आजदेखि पठनपाठन नियमित