काठमाडौँ – नेकपा एमालेका नेता माधव कुमार नेपालले गएको निर्वाचनमा वामदेव गौतमलाई हराउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेलेको खुलासा गरेका छन्।
आइतबार काठमाडौँका आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउने व्यक्ति केपी शर्मा ओली नै भएको आरोप लगाएका हुन्।
आइतबार काठमाडौँ जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नेपालले वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउन ओलीले भूमिका खेलेको मात्र बताएनन्, आफूलाई पनि हराउन खोजेको आरोप लगाए।
काठमाडौँको २ नम्बर क्षेत्रमा उम्मेदवार हुँदा ओलीका मान्छेले हराउन खोजेको नेपालको भनाई छ। केपी ओली बदलाको भावनाले चल्ने पूर्वाग्राही व्यक्ति रहेको पनि नेपालले बताए।
उनले भने,”काठमाडौँको २ नम्बर क्षेत्रमा उम्मेदवार हुँदाखेरी केपी ओलीका मान्छेले मलाई चुनाव हराउन खोजेका थिए। मलाई हराउनका लागि मेरो सामुन्ने नै प्रयत्न गरेका थिए। आफ्नो पक्षको उम्मेदवारका पक्षमा पर्चा बाढ्दै र भोटमाग्दै हिँडेका थिए। माधव नेपालको त नामैले, अनुहारले नै भोट आइहाल्छ नि किन बाड्नु पर्यो पर्चा, किन माग्नु पर्यो भोट भन्थे।”
केपी ओलीले पार्टीकै नेताहरुलाई हराउन भूमिका खेलेको पनि आरोप लगाए। प्रधानमन्त्रीको प्रत्यासी रहेका व्यक्तिहरुलाई हराउने गरी ओली षड्यन्त्रमा जुटेको नेता नेपालको आरोप छ।
“विभिन्न व्यक्तिहरुलाई विभिन्न ठाउँमा हराउनका लागि उहाँले भूमिका खेल्नुभयो। त्यसमध्ये पनि सबैभन्दा पहिला जो प्रधानमन्त्रीको प्रत्यासी हुन्छ त्यसको पत्तासाफ गरिदिने योजनामा उतिबेलैदेखि लाग्नुभएको थियो।”,उनले भने।