संसद्मा नयाँ खेल सुरु !

काठमाडौँ – प्रतिनिधिसभा सांसद सानु सिवाको निधनपछि असोजदेखि रिक्त ठाउँमा जानकीदेवी रामलाई सांसद बनाएसँगै संसद्मा यतिबेला प्रधानमन्त्री ओलीलाई एकजना सांसदको पनि धेरै महत्व देखिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री ओलीले आफ्ना १ सय २१ सांसदलाई कायमै राखेर अन्य पार्टीका मुख्य गरी जसपा र स्वतन्त्र हैसियतका सांसदलाई आफूतर्फ लैजान खोजेका छन्। उनले कुनै पनि बेला बहुमत पुर्‍याउन १ सय ३८ जना सांसद आफ्नो पक्षमा उभ्याउनुपर्ने चुनौती छ।

संसद् विघटन गरेपछि नयाँ निर्वाचनका लागि तयारी थाल्न निर्वाचन आयोगलाई भनिरहेका प्रधानमन्त्री ओली संसद् पुर्नस्थापना भएसँगै उनलाई संसद् मन परेको छैन तर सांसदको साथ भने आवश्यक परेको छ। जसकारण यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रका सांसदलाई कारबाही गर्ने कुरा निकै कठिनाइ छ। सांसदको साथ पाउने नपाउने विषयमा उनले संसद्मा आफैं परीक्षण गर्ने अवस्था छैन तर उनी तयारी अवस्थामा भने छन्।

प्रधानमन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा वा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा मात्र संसद्मा आफ्नो परीक्षण गर्नेछन्। नेकपा पार्टी विवादसम्बन्धी सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि अहिले संसद्मा बहुमत पुर्‍याउनका लागि संख्याको समस्या भएको छ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रमु साहलाई पनि एमाले पार्टीमा लगेपछि माओवादी केन्द्रको मत घटेको छ। स्रोत भन्छ, ‘संख्याका कारण प्रधानमन्त्री ओलीलाई हटाउनका लागि माओवादी केन्द्रले धनीभूत छलफल पनि गरेको छैन, ओलीलाई राजीनामा दिनुपर्ने भनेर सडकमा आन्दोलन पनि गरेको छैन तर ओलीलाई जसरी पनि हटाउनु पर्ने भनेर उद्देश्य मात्र बोकेको छ।’ प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने हो भने समर्थन फिर्ता लिन सकिन्छ।

तर आवेगमा गरेको निर्णयले संसद् नै पुनः विघटनको अवस्थामा पुग्ने सम्भावना पनि माओवादी केन्द्रले देखेको स्रोतले बतायो। यस्तो अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आलोपालो प्रधानमन्त्री हुने कुरालाई हटाएर अर्को निर्वाचनसम्म देउवालाई एकलौटी प्रधानमन्त्री हुन प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए।

यो प्रस्ताव आएसँगै कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्न सुरु गरेको छ। सोमबारको संसद् बैठकमा कांग्रेसका सांसद भीमसेनदास प्रधान, डिला संग्रौला, देवेन्द्रराज कँडेल लगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। तर प्रधानमन्त्री ओलीले राजीनामा दिए पनि जनता समाजवादी पार्टीको समर्थन विनाकांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार गठन गर्न नसक्ने भएपछि अन्योल कायमै छ।

हिउँदे अधिवेशनमा सरकारलाई ढाल्न नसके पनि बर्खे अधिवेशनमा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा सरकार ढाल्न सकिन्छ कि भन्ने छलफल पनि हुन थालेको छ। नीति तथा कार्यक्रम पारित नभएमा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भएकाले अबको खेल त्यहाँ पुग्छ कि भन्ने राजनीतिक विश्लेषण छ। हिउँदे अधिवेशन अब धेरै दिन नचल्ने सरकारी स्रोत बताउँछ। यो सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल पारेमा सरकारले बजेट ल्याउन सक्दैन।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७०८:१०

जसपाका माग पूरै हुँदै, जेलमा रहेका सबै छुट्दै !