काठमाडौं , नेपाल सरकारले घोडेजात्राका अवसरमा सार्वजनिक बिदा दिएको छ । घोडेजात्राको अवसरमा सरकारले भोलि उपत्यकामा बिदा दिएको हो । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत, पिशाचलगायत नकारात्मक तत्वले दुःख नदियोस भनी मनाइने घोडेजात्रा मनाउने गरिन्छ ।
घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ । यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ । कुनै दिन काठमाडौँ बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।
यो जात्रा परापूर्वकालमा टुँडि नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने विश्वास गरिन्छ ।

