गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।
राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेको बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेको तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।
आजै गृहमन्त्रीको शपथ लिँदै
राष्ट्रियसभा सदस्य पद गुमेका रामबहादुर थापा ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ। आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा ‘बादल’ को शपथ कार्यक्रम राखिएको बताइएको छ। बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य चयन भएका उनी सर्वोच्चको फागुन २३ को निर्णयले एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि उनी एमालेतिर लागेका थिए।