काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री पदको कुनै पनि लोभ नभएको बताएका छन्। आफूलाई प्रधानमन्त्री पदको कुनै लोभ नभएको तर आफ्नो पार्टीले सरकारको नेतृत्व गर्नै पर्ने राजनीतिक अस्वस्था आएको खण्डमा भने आफू पछि नहट्ने उनले बताए।
आज स्वयम् निवास बुढानिलखण्डमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जन जातीय संस्कार र संस्कृतिको विमोचनमा सभापति देउवाले यस्तो बताएका हुन्। आफूहरु प्रधानमन्त्रीका लागि भनेर मरिमेटेर कतै नलाग्ने देउवाको भनाइ छ। अहिलेको समयमा बहुमतको सरकार रहेकोले त्यहि सरकारलाई आफूहरुले मान्ने बताउँदै उनले सरकारसँग कुनै प्रकारको निउ नखोज्ने देउवाले भने।
उनले भने,”प्रचण्ड जीहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको छैन। यस्तोमा, अहिले बहुमतकै सरकार रहेको छ। त्यसैले, बहुमतको सरकार हुँदा हामीले अरु कुरा सोच्नु हुँदैन। हामीले बहुमतकै सरकार मानेका छौं र यो कुरामा हामीले निउँ खोज्ने कुनै कारण छैन। हामीलाई प्रधानमन्त्री चाहिन्छ भन्ने पनि छैन। हामी प्रम पदका लागि लालायित छैनौं। तर परिस्थितिले हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडी हट्ने छैनौं।”
सभापति देउवाले अहिलेको समयमा नेपालको राजनीति कता जान्छ भन्न कसैले नसक्ने बताएका छन्। अहिलेको राजनैतिक परिस्थिति तरल अवस्थामा रहेकोले जता पनि जान सक्ने भएको उनले बताए।