युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो भन्दा इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकु पूर्ण र अल-राउण्ड खेलाडी भएको पूर्व इटालियन खेलाडी लुका टोनीले बताएका छन्।
जारी सरी-ए सिजनमा रोनाल्डो २५ गोलका साथ लिगमा उच्च गोलकर्ता हुन् भने लुकाकु २१ गोलका साथ दोस्रो स्थानमा रहेका छन्। तर लुकाकुको टोली इन्टर रोनाल्डोको युभे भन्दा १२ अंक अगाडी रहेको छ। यी दुई क्लब बीच सबैभन्दा ठूलो फरक लुकाकु रहेको विश्वकप विजेता टोनीले बताए।
“लुकाकुले गोल नगरेको खेलमा पनि उनी निर्णायक हुने गरेका छन्,” पूर्व बार्यन म्युनिख स्टारले भने,”तर रोनाल्डो सधैं झैँ विश्वस्तरीय छन्। वर्तमान समयमा म लुकाकुलाई रोनाल्डो भन्दा पनि पूर्ण स्ट्राइकर देख्छु, विशेषगरी लुकाकु युवा भएको विचार गर्दौ।”
रोनाल्डो जस्तो खेलाडीको लागि यो अपमानजनक लाग्न सक्छ तर लुका टोनीले भन्न खोजेको ३६ वर्षीय रोनाल्डो टिमका लागि २७ वर्षीय लुकाकु भन्दा धेरै सक्रिय हुन सक्दैनन्। गोलको तुलना गर्दा रोनाल्डो लुकाकु भन्दा अगाडी रहेका छन् भने असिस्टको कुरा गर्दा लुकाकुको नाममा ९ असिस्ट छ भने रोनाल्डोले ३ पटक आफ्ना टिममेटलाई असिस्ट प्रदान गरेका छन्।
टोनीले गत हप्ता रोनाल्डोले जेनोआ विरुद्ध गोल गर्न नसकेको खेलमा जर्सी फालेको कुरामा बोल्दै त्यसको आलोचना गरेका छन्। फुटबल इटालियासँग बोल्दै उनले भने,”उनी क्लबका लागि निकै महत्वपूर्ण छन्। उनले युभेको लागि सबैभन्दा धेरै गोल गरेका छन्। तर मलाई उनको केहि मनोवृत्तिले मन परेन। म निकै स्वार्थी खेलाडी थिएँ, तर मैले गोल नगरेको खेलमा पनि मैले कहिल्यै त्यस्तो व्यवहार गरिनँ।”
आफ्नो खेल जीवनमा सरी-ए र बुन्डेसलिगामा हुँदा उच्च गोलकर्ता हुन सफल भएका लुका टोनीले रोनाल्डो विश्वस्थरिय खेलाडी भएकोमा भने उनी युभेन्टसका लागि निकै महत्वपूर्ण भएको विश्वास गर्छन्।