एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोलमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा वेर्डर ब्रेमेनमाथि ४–१ को पूनरागमन जित निकालेको छ ।
घरेलु मैदानमा डर्टमुन्डको जितमा हालान्डले दुई गोल गर्दा जियोभानी रेना र म्याट हमेल्सले समान एक गोल गरे । वेर्डर ब्रेमेनका मिलोट रासिकाको गोल सान्त्वना बन्यो ।
सिग्नल इडुना पार्कमा आइतबार राति भएको खेलको १४औं मिनेटमा मिलोट रासिकाको गोलमा डर्टमुन्ड पछि परेको थियो । त्यसपछि १० मिनेटको अन्तरमा डर्टमुन्डले ३ गोल गरेपछि पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको थियो ।
२९औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३४औं मिनेटमा आलान्डले गोल गर्दै डर्टमुन्डलाई २–१ ले अघि बढाए । ३८औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै डर्टमुन्डलाई ३–१ को अग्रता दिलाए । खेल सकिन ३ मिनेट बाँकी रहँदा म्याट हमेल्सले थोर्गन हाजार्डको पासमा गोल गर्दै डर्टमुन्डलाई ४–१ को फराकिलो जित दिलाए ।
जितसँगै पाँचौ स्थानमा रहेको डर्टमुन्डले शीर्ष चारमा पर्ने सम्भावना जीवित राखेको छ । डर्टमुन्ड चौथो स्थानको फ्रान्कफुर्टभन्दा ४ अंकले पछि छ । फ्रान्कफुर्टको ५३ तथा डर्टमुन्डको ४९ अंक छ । पराजित वेर्डर ब्रेमेन ३० अंक जोडेर १३औं स्थानमा रहेको छ ।