म्यानचेस्टर सिटी, चेल्सी र रियल म्याड्रिड जारी सिजनको च्याम्पियन्स लिगबाट यहि हप्ता बाहिरिने सम्भावना रहेको डेनमार्क एफए अध्यक्ष जेस्पर मोलरले बताएका छन्। मोलर यूईएफएको कार्यकारी समितिका सदस्य पनि हुन्। उनका अनुसार आइतबार घोषणा भएको युरोपियन सुपर लिगका सदस्य क्लबहरुले च्याम्पियन्स लिगबाट प्रतिबन्धको सामना गर्न सक्ने बताए।
रियल, चेल्सी र म्यानचेस्टर सिटी तीनै क्लब च्याम्पियन्स लिगको सेमी-फाइनलमा छन्। एक मात्र टोली जो सुपर लिगको सदस्य छैन, त्यो हो फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन(पीएसजी)। “यी क्लबहरु बाहिरिनु नै पर्छ। र मलाई आशा छ कि आउने शुक्रबार यो हुनेछ। त्यसपछि अब कसरी च्याम्पियन्स लिग समाप्ति गर्ने भन्ने हेर्नु पर्छ,” मोलरले भने। अहिलेको अवस्थामा च्याम्पियन्स लिगको सेमी-फाइनलमा म्यानचेस्टर सिटीले पीएसजी र चेल्सीले रियल म्याड्रिडको सामना गर्नेछ।
सुपर कपको संस्थापक सदस्यका रूपमा रहेका १२ क्लबलाई यूईएफएले आफ्नो सबै प्रकारको प्रतियोगिताबट प्रतिबन्ध लगाउनु पर्ने मोलरको भनाइ छ। एसी मिलान, इन्टर मिलान, युभेन्टस, बार्सिलोना, रियल म्याड्रिड, एथलेटिको म्याड्रिड, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर नव घोषित प्रतियोगिताका संस्थापक सदस्यका रूपमा रहेका छन्।
मोलरका अनुसार युईएफएले यी १२ क्लबका खेलाडीलाई उक्त क्लबसँग आफ्नो सम्झौता खारेज गर्ने मौका पनि दिने छ। अन्यथा यी १२ क्लबबाट खेल्ने खेलाडीले कुनै प्रकारको युईएफए प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।