युरोपका ठूला र चर्चित १२ फुटबल क्लबहरू नयाँ युरोपियन सुपर लीगमा सहभागी हुन सहमत भएका छन्। युरोपेली फुटबलमा कम्प ल्याउने घोषणामा इङ्ग्ल्यान्डका आर्सेनल, चेल्सी, लिभरपुल, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर यूनाइटेड र टोट्नम, इटालीका एसी मिलान, इन्टर मिलान र युभेन्ट्स एवं स्पेनको एट्लेटिको मड्रिड, बार्सिलोना र रेयाल मड्रिड गरी १२ वटा क्लब सहभागी छन्।
सुपर लीगका खेल सप्ताहको मध्यमा हुने र ती क्लबहरूले सप्ताहान्तमा आफ्नो देशको घरेलु लीग खेल्न जारी राख्ने बताइएको छ। यसको पहिलो सीजन सकेसम्म छिटो आरम्भ हुने र थप तीन ठूला क्लबहरू जोडिने बताइएको छ। यूकेका प्रधानमन्त्री बोरिस जोन्सन, युरोपेली फुटबल सङ्घ र प्रीमीअर लीगले यसको आलोचना गरेका छन्।
विश्व फुटबल सङ्घले यसअघि नै यस्ता प्रतियोगितालाई मान्यता नदिने र यसमा खेल्ने खेलाडीहरूलाई विश्वकपबाट वञ्चित गराउन सकिने बताएको थियो। आखिर किन युरोपका ठूला क्लबहरूले यस्तो विवादास्पद निर्णय गरे त?
अहिले किन?
गत वर्ष अक्टोबरदेखि नै च्याम्पियन्स लीगको स्थानमा नयाँ ४.६ अर्ब पाउन्डको नयाँ प्रतियोगिताको कुरा चलेको थियो। युरोपेली फुटबल सङ्घले ३६ क्लबले खेल्ने नयाँ प्रारूपको च्याम्पियन्स लीगबाट एउटा सुपर लीग बन्ने अपेक्षा गरेको थियो। यससम्बन्धमा सङ्घले सोमवार निर्णय गर्दैछ।
तर सुपर लीग घोषणा गरेका १२ क्लबले च्याम्पियन्स लीगलाई नयाँ प्रारूपमा लगे पनि त्यो यथेष्ट नहुने महसुस गरेका छन्। उनीहरूले विश्वव्यापी महामारीले युरोपेली फुटबलको आर्थिक प्रारूपको अस्थिरतालाई तीव्र बनाएको मान्छन्।
“हालैका महिनाहरूमा फुटबलका सरोकारवालाहरूबीच युरोपेली प्रतियोगिताहरूको भविष्यको प्रारूपको बारेमा व्यापक छलफल भएको छ,” उनीहरूले भनेका छन्।
“तर संस्थापक क्बलहरू ती छलफलमा सुझाइएका समाधानहरूले उच्च स्तरका खेलहरूको आवश्यकता र फुटबल पिरामिडमा थप आर्थिक स्रोतको सुनिश्चितता जस्ता आधारभूत मुद्दालाई सम्बोधन गर्दैनन्।”
सुपर लीग कस्तो हुनेछ?
सुपर लीगमा २० टोली हुने छन्। तीमध्ये १२ संस्थापक क्लब र तीनवटा छिटै जोडिने क्लबहरूले नियमित खेल्नेछन् भने बाँकी पाँच टोली घरेलु फुटबलमा प्रदर्शनको आधारमा बर्सेनि छनोटमा पर्नेछन्।
प्रस्तावअनुसार सुपर लीग अगस्टमा सुरु हुनेछ, खेलहरू सप्ताहको बीचमा हुनेछन् र २० क्बलहरू दुई समूहमा छुट्टिएर प्रत्येक टोलीबीच दुई खेल हुनेछ।
दुवै समूहका शीर्ष तीन टोली नकआउट चरणका लागि छनोट हुनेछन्। चौथो र पाँचौ टोलीहरूले नकआउटका बाँकी दुई स्थानका लागि प्लेअफ खेल्नेछन्।
त्यसपछि सेमीफाइनलसम्म ‘होम’ र ‘अवे’ गरी दुई खेल एवं मे महिनामा हुने एउटा फाइनल तटस्थ मैदानमा हुनेछ। सुपर लीगले च्याम्पियन्स लीगभन्दा बढी पैसा कमाउने र प्रतियोगिताभरि राम्रो बाँडफाँट हुने बताएको छ।
सुपर लीगका नेतृत्वकर्ता के भन्छन्?
रेयाल मड्रिडका अध्यक्ष र सुपर लीगका पहिलो अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नयाँ प्रतियोगिताले सबै स्तरका फुटबललाई सहयोग गर्ने बताएका छन्।
“चार अर्ब समर्थक भएको फुटबल एकमात्र विश्वव्यापी खेल हो र ठूला क्लबका रूपमा हाम्रो जिम्मेवारी उनीहरूको इच्छा पूरा गर्नु हो।”
युभेन्ट्सका अध्यक्ष आन्ड्रेया आन्नेलीले युरोपेली फुटबल सङ्घको कार्यसमिति र च्याम्पियन्स लीगको प्रारूप परिवर्तनका लागि लडिरहेको युरोपेली क्लब सङ्घको अध्यक्षबाट राजीनामा दिएका छन्।
उनले १२ क्लब ‘यो संवेदनशील घडीमा युरोपेली प्रतियोगितालाई परिवर्तन गर्न र हामीले माया गर्ने खेललाई दीर्घकालीन भविष्यका लागि दीगो जगमा राख्न एकताबद्ध भएको’ बताएका छन्। सुपर लीगको उपाध्यक्ष म्यान्चेस्टर यूनाइटेडका सहअध्यक्ष जोल ग्लाजर छन्।
आम प्रतिक्रिया कस्तो छ?
समग्रमा सुपर लीगसँग सम्बन्ध नभएका सबैले यसको विरोध गरेका छन्। यूकेका प्रधानमन्त्री जोनसनले यो योजना फुटबलका लागि धेरै हानिकारक हुने बताएका छन् भने फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोँले फ्रान्सेली क्लबहरूले सुपर लीगमा संलग्न हुन अस्वीकार गरेको कुराको स्वागत गरेका छन्।
युरोपेली फुटबल सङ्घले इङ्ग्ल्यान्ड, स्पेन र इटालीका फुटबल सङ्घहरूसँग मिलेर संयुक्त वक्तव्य जारी गरेर यो लीग रोक्न हरेक उपलब्ध उपाय लगाउन एकताबद्ध रहेको बताएका छन्।
यूकेको फुटबल समर्थक सङ्घले यो योजना अन्य कुराले नभई लोभले प्रेरित रहेको बताएको छ। इङ्ग्ल्यान्डका सहभागी छवटै क्लबका समर्थक समूहहरूले सुपर लीगको विरोध गरेका छन्।
क्लबका चुनौती कस्ता?
बीबीसी स्पोर्ट्सका साइमन स्टोनका अनुसार यो घोषणामा धेरै प्रश्नहरू अनुत्तरित छन्।
“पहिलो त यति दह्रो विरोध भएपछि के यो योजना अगाडि बढ्न सक्छ?”
“अन्य तीन क्लबहरू कुनकुन हुन्? बार्यन म्युनिख र प्यारिस सेन्ट जर्मन आउँछन्? अन्य पाँच क्लब कसरी छानिन्छन्?”
“यी बहसहरू रमाइलो हुनेछन् तर अहिलेका लागि संस्थापक क्लबहरूले युरोपियन सुपर लीगका बारेमा आम रूपमा देखिएको नकारात्मक सोचलाई उल्टाउन सङ्घर्ष गर्नुपर्नेछ।”
-बिबिसीबाट