काठमाडौं – करन केसीले विष्फोटक पारीको मद्दतमा त्रिकोणात्मक टि ट्वान्टी आई क्रिकेट सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २ सय १८ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर मलेसियाले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ गर्न मैदान उत्रिएको नेपालले निर्धारित २ओ ओभरमा ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको हो।
नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो। सातौं नम्बरमा ब्याटिङ गर्न आएका करनले मात्र १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन बनाएका हुन्। अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भए। त्यसपछि ३ नम्बरमा आएका कप्तान ज्ञानेन्द्र मल्लले आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए।
१२ औं ओभरमा मलेसियाका अनवर रहमानले नेपालका दुबै सेट ब्याट्सम्यान्सलाई आउट गर्दै मलेसियालाई खेलमा फर्काएका थिए। २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए भने ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे। नेपालका लागि कुशल मल्लले १० बलमा १९ रन बनाएका थिए भने दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए। विनोद भण्डारी भने ८ रन मा आउट भए।