कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो । नगर कार्यपालिकाको आज बसेको बैठकले यही वैशाख १० देखि १७ गतेसम्म बन्द रहने सूचना प्रकाशित गरेको छ ।
नगरपालिका भित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका अन्य सेवा बन्द रहने नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्था यथावतरूपमा सञ्चालन हुने सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिए ।
पोखराका सङ्क्रमितको मृत्यु
पोखराका कोरोना सङ्क्रमितको ज्यान गएको छ । ज्यान जानेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् ।
मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृ-त्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृ-त्यु भएको हो ।