पछिल्लो १ हप्तामा १० हजार भन्दा बढी कोरोना संक्रमित थपिए, लकडाउन गर्न स्वास्थ्यविद्को सुझाव !

भारतमा कोरोना महामारीको दोस्रो लहरले विकराल रूप लिँदै गर्दा नेपालमा पनि दैनिक रूपमा संक्रमितको सङ्ख्या उकालो लाग्दै गएको छ। पछिल्लो १ हप्ताको समयमा नेपालभर १० हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार २३ सय भन्दा बढी मानिसमा देखिएको कोरोना हिजो बिहिबार २४ सय जना भन्दा धेरै मानिसमा पुष्टि भएको थियो। शनिवार ८४३, आइतबार १०९६, सोमवार १२८१, मंगलबार १७३६, बुधवार २३५१ र विहीवार २४२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएको कुल सङ्ख्या २ लाख २९ हजार १५२ रहेको छ।

पछिल्लो समयमा संक्रमण पुष्टि भएको सङ्ख्या हेर्दा निको हुने सङ्ख्या अत्यन्त न्युन रहेको छ। बिहिबार २ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिँदा निको हुनेको सङ्ख्या भने जम्मा २५२ रहेको छ। देशभर हाल १२ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।

कोरोना महामारीको दोस्रो लहरबाट काठमाडौँ उपत्यका सबैभन्दा प्रभावित देखिएको छ। देशभर थपिएका संक्रमितको झन्डै आधा संक्रमित काठमाडौँ उपत्यकामा देखिन थालेको छ। यस्तो अवस्था जारी रहेमा फेरी लकडाउन गर्नुको विकल्प नरहेको स्वास्थ्यविद् बताउँछन्। सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा.पाण्डेले भने।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१२:०१

दुधौलीका तीनवटा वडामा एक हप्ता लकडाउन