देशभरबाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण २८ जनाको ज्यान गएको रिपोर्ट भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका २८ जनाको विवरण थप गरेको हो। योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार १ सय ६४ पुगेको छ ।
आइतबार देशभर ३ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। कुल १० हजार ७८ जनाको परिक्षण गर्दा पीसीआर मार्फत ३ हजार ३२ र एन्टी-जिन मार्फत ९० जना गरी कुल ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको सङ्ख्या ३ लाख नाघेको छ। हालसम्म देशभर कोरोना संक्रमितको सङ्ख्या ३ लाख १ सय १९ पुगेको छ।
संक्रमणको तुलनामा निको हुनेको सङ्ख्या भने निकै न्युन देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँबाट कुल ४५० जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै, कोरोनाको दोस्रो लहर नेपालमा पनि देखिरहँदा फेरी एकपटक काठमाडौँ उपत्यका सबैभन्दा प्रभावित क्षेत्र देखिएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र १ हजार ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा १ हजार १ सय ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २७० र भक्तपुरमा ९६ जना नयाँ संक्रमित थपिएका हुन्।

