ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयार, भावी प्रधानमन्त्रीमा देउवा !

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयार भएको छ । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका आधा जसो सांसदले हस्ताक्षर गरेका छन् । राजधानी बाहिर रहेका सांसदलाई पनि तयारी अवस्थामा बस्न दुवै दलले निर्देशन दिएका छन् । प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको छ । प्रस्तावकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् ।

अविश्वासको प्रस्ताव तयार भएपनि कहिले पेश गर्ने भन्नेमा दुवै दलबीच सहमति जुट्न सकेको छैन । कांग्रेसले प्रस्ताव पारित हुने अवस्थामा मात्रै पेश गर्ने जानकारी माओवादीलाई दिएको छ । सो प्रस्ताव पारित गर्न दुवै दललाई सिंगो जनता समाजवादी पार्टी (जसपा)को साथ चाहिन्छ । तर, जसपा दुई खेमामा विभाजन भएकाले बहुमत पुग्ने अवस्था छैन । त्यसका लागि एमालेकै माधवकुमार नेपाल खेमाले फ्लोर क्रस गर्नुपर्ने अवस्था रहेको छ ।

माओवादी अध्यक्ष दाहालले जसपाबाट अपुग भएको सांसद नेपाल पक्षले उपलब्ध गराउने दाबी देउवासमक्ष पटक पटक गरिरहेका छन् । तर, देउवाले त्यो लिखित रुपमा सुनिश्चिता हुनुपर्ने अडान माओवादी पक्षसँग राखिरहेका छन् । नेपाल पक्षले लिखित प्रतिवद्धता गर्ने वित्तिकै सांसद पद धरापमा पर्ने भएकाले परिस्थिति सोचे जस्तो नभएको नेताहरुको भनाई छ । संसद बैठक सकिएपछि अहिले सांसदहरु जिल्ला जिल्ला गएका छन् । जिल्लामा भएका सांसदले केन्द्रबाट तयारी अवस्थामा रहन र भन्ने वित्तिकै काठमाडौं आउन निर्देशन दिएका छन् ।

प्रस्ताव तयार भएपनि कांग्रेसले स्पष्ट बहुमत नपुग्दासम्म प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हतार नगर्ने निर्णय गरेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा आइतवार बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा स्पष्ट बहुमत नपुग्दासम्म अविश्वासको प्रस्ताव ल्याउन नहुने निश्कर्ष निकालेको हो । गत चैत्र २० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले संख्याको ग्यारेन्टी नहुन्जेलसम्म कांग्रेसले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताएका हुन् ।

‘नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णय हो प्रधानमन्त्रीले राजीनामा दिनुपर्दछ र कांग्रेसको नेतृत्वमा सरकार गठनको पहल गर्दछौँ भनेर हामीले भनेका छौं,’ निधिले भने, ‘पहल त हामीले गरिरहेका छौं, पहल गर्दा त्यो संख्या पुगिरहेको छैन, संख्या नपुग्दा, संख्याको ग्यारेन्टी नहुँदा अविश्वासको प्रस्ताव दर्ता गर्नु बुद्धिमानी हुँदैन ।’

माओवादी केन्द्रले ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न आग्रह गरिरहेको छ । ‘जबसम्म संख्याको ग्यारेन्टी हुँदैन, तबसम्म अविश्वासको प्रस्ताव राख्ने कुरै हुँदैन । अविश्वासको प्रस्ताव राखेर फेल भइसकेपछि एक वर्ष राख्न पाइँदैन, आफैँ खाडलमा परिन्छ । त्यो थाहा हुँदाहुँदै, जान्दाजान्दै पूर्ण तयारी नगरी अविश्वासको प्रस्ताव राख्ने कुरा छैन,’ निधिले भने ।

एक पदाधिकारीका अनुसार बैठकमा सभापति देउवाले अविश्वासको प्रस्ताव राख्नको लागि स्थिती परिपक्व नभएको बताएका थिए । जसपाको बहुमत पक्ष प्रधानमन्त्री ओलीसँगै रहेकोले आफूहरूको पक्षमा बहुमत पुग्न नसक्ने कांग्रेसको विश्लेषण छ । ‘निर्णय गर्नु एउटा कुरा भयो, फेरि पनि कांग्रेसको पक्षमा बहुमत पुग्ने सम्भावना नभएपछि किन अविश्वासको प्रस्तावमा हतारो गर्ने’, एक नेताले भने ।

यता, नेकपा एमालेले भने फ्लोर क्रस गर्ने आशंका गरिएका सांसदलाई कारवाही नगर्ने संकेत गरेको छ । प्रधानमन्त्री एंव एमाले अध्यक्ष ओलीले एक टेलिभिजन अन्तर्वार्तामा फ्लोर क्रस गर्नेको राजनीति नै सकिने भएकाले आफुहरु त्यो हुन्छ भन्ने नसोचेको बताए । यता, नेता नेपाल पक्षले भने यसविषयमा मौन बसेको छ । यद्यपी यो समुहका नेताहरुले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रलाई मतदान गरेको थियो ।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८१०:५६

वीरगन्जमा कोरोना संक्रमणको सुनामी, एउटै बेडमा तीन जना संक्रमितकाे उपचार !