काठमाडौँ, बैशाख १६ । कोरोना भाइरस संक्रमण पुष्टि भएर उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालले उहाको लागि प्लाज्माको खोजी गरिरहेको छ। सकेसम्म उहाको बिहीबार नै प्लाज्मा थेरापीबाट उपचार गरिनेछ ।
श्वासप्रश्वासमा समस्या देखिएको र अक्सिजनको समेत कमि देखिएपछि उहालाई बुधबार बेलुका आइसियूमा सारेर हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । उहालाई आइसियूमा राखेर प्रतिमिनेट ८-१० लिटरसम्म अक्सिजन दिइरहेको अस्पताले जनाएको छ। कोमलको अवस्था सुधारोन्मुख रहेको जनाएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह, पूर्वअधिराजकुमारी प्रेरणा शाह भर्ना भएका थिए । त्यस्तै ज्ञानेन्द्र शाह पनि अक्सिजनकै सामान्य सपोर्टमा छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य छ र छोरी प्रेरणालाई भने अक्सिजन दिनु परेको छैन।
शाह दम्पत्तीलाई भारतको हरिद्वारबाट फर्किएलगतै कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा केही दिन होम आइसोलेसनमा बसेर बैशाख ७ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए।