राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीको मुख्य सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण थालिएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आथित्यतामा आज आयोजनाको बाँधस्थल लामाबगरमा पानी भर्ने कार्यको शुभारम्भ भएको हो । सो अवसरमा आयोजनाका सम्बद्ध अधिकारीको समेत उपस्थिति थियो ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार १० देखि १२ दिनसम्म सुरुङमा पानी हालेर परीक्षण गरिन्छ । त्यसपछि विद्युत्गृह र अन्य उपकरणको परीक्षण गरिन्छ । “हामी विद्युत् उत्पादनको चरणमा प्रवेश गरेका छौँ । यो आफैँमा खुशीको विषय हो । नेपालीले लामो समयदेखि देखेको एउटा सपना पूरा हुने चरणमा पुगेको छ” उहाँले भन्नुभयो ।
सुरुङमा पानी भर्ने कार्यको शुभारम्भपछि नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्नुभएको छ । “नेपालको जलविद्यसत् क्षेत्रको इतिहासमा यो सबैभन्दा खुशीको क्षण हो । केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनाबाट उत्पादन हुने विद्युत्को औपचारिक रूपमा उद्घाटन गर्नुहुनेछ ।” उहाँले योसँगै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत् निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउनेछ उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीको मार्गनिर्देशन र ऊर्जामन्त्री टोपबहादुर रायमाझीको कुशल नेतृत्व तथा आयोजना निर्माणमा संलग्न सबैको अथक मेहनतप्रति मन्त्री गुरुङले आभार प्रकट गर्नुभएको छ । गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दी, कोरोना कहरलगायतका अनेकन समस्यासँग जुध्दै अगाडि बढेको आयोजनाको काम नसकिएका कारण म्याद थप गर्नुपरेको थियो । आयोजना हालसम्मकै सबैभन्दा ठूलो हो ।
स्वदेशी लगानीमा निर्माण भएको आयोजना आफैँमा नेपालीका लागि गौरवको आयोजनासमेत हो । आयोजनाका अनुसार थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भरिने छ । यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरूमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६र६ वटा टर्वाइन र जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन शुरु हुने छ ।
चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनेछ । आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिटहरू रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमश: विद्युत् उत्पादन हुनेछ । विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरू उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।
भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको हो । स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूला–ठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा पर्यो, त्यसबाट तङ्ग्रिदै विद्युत् उत्पादनको चरणमा पुगेको हो ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो । आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब रु एक अर्ब खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिङ्गटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।
यही पूर्वाधारलाई प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोशी बाहेक सानाठूला गरी करिब ७०० मेगावाट जम्मा क्षमता बराबरका २१ जलविद्युत् आयोजनाहरू अगाडि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साबिकका २० गाविसका जनतालाई आवतजावत सहज भएको छ ।