११ वर्षीय बालिकाको १४ वर्षको किशोरसँग ‘लभ’ परेपछि ..

सल्यान । जिल्लामा बालविवाह न्यूनीकरणसम्बन्धी विभिन्न अभियानहरू सञ्चालन भए पनि बालविवाह गर्ने क्रम रोकिएको छैन । पछिल्लो समय जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा भएको बालविवाहले सवैलाई आश्चर्य तुल्याएको छ । ११ वर्षकी बालिका र १४ वर्षीय किशोरबीच प्रेम मात्रै भएन । स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत दुवैले प्रेमपछि भागेर विवाह गर्ने निधो गरे । पढेर भविष्य निर्माण गर्नका लागि विद्यालय गएका किशोरले भगाएर ११ वर्षीय बालिकालाई टीकाटालोसमेत गरेर घर भित्र्याउने तयारी गरेका थिए । यही १३ वैशाखमा खाना खाएर बालिकको घरमा सबै सुतिसकेपछि किशोर बालिकालाई लिन बालिकाको घरमा पुगे । बिहान सुतेको ठाउँमा बालिका नभेटिएपछि घरमा हल्लीखल्ली भयो । गाउँमा खोज्दै जाने क्रममा किशोरले विवाह गरेर ल्याएको थाहा पाएपछि बालिकाको बुबाले बालिकालाई फिर्ता लिएर प्रहरीमा पुगे । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

उमेर नपुगेको बालिकालाई ललाइफकाई विवाह गरेको भन्दै विवाह गर्ने र किशोर र उनका बुबालाई प्रहरीमा जाहेरी दिएपछि सोही जाहेरीका आधारमा प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बालिकालाई लिएकै दिन किशोरसँगै सुतेकोले बलात्कारसमेत भएको भन्ने जाहेरीका आधारमा प्रहरीले बालिकाको स्वास्थ्य परीक्षणसमेत गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । आरोपित किशोरले समेत आपूmहरूसँगै सुतेको प्रहरीसमक्ष वयान दिएकोले जवरजस्ती करणीअन्तर्गत मुद्दा चल्ने पौडेलको भनाइ छ । सुरुमा प्रहरीले किशोरका बाबुलाई पक्राउ गरेको भए पनि विवाहमा उनको संलग्नता नदेखिएकोले प्रक्रिया पु¥याएर छोड्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । तर, विवाहमा किशोरका भाउजूले भने दुवै जनालाई टीकाटालो गरिदिएको भन्ने सूचनाका आधारमा अनुसन्धान हुने प्रहरीको भनाइ छ ।

फोन तथा इन्टरनेटको पहुँचभन्दा बाहिर उनीहरूबीच यति सानो उमेरमा कसरी प्रेम भयो भन्ने बिषयले सवैलाई सोच्न बाध्य बनाएको छ । बालविवाह भए पनि अलि बढी उमेरमा भएको हुने गरे पनि जिल्लामा बालविवाहको अवस्था दिनप्रतिदिन बढदै जान थालेको मानवअधिकारकर्मी तथा इन्सेक प्रतिनिधि मीना बुढाथोकी बताउँछिन् । ‘जिल्लामा बाल विवाह रोक्नका लागि जिल्लाव्यापी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको भए पनि स्थानीय तहहरूले खास चासो नदिँदा समस्या देखिएको छ’, बुढाथोकीले भनिन् ।

बालविवाहले भविष्यमा पार्ने असरका विषयमा स्थानीयतह तथा विद्यालयमा शिक्षकहरूले समेत समयमै प्रर्याप्त जानकारी नदिँदा समस्या आएको बुढाथोकीको भनाइ छ । जिल्लामा बालविवाहमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही गर्ने गरेको भए पनि चेतनाको कमीले यस्ता घटनाहरू दोहोरिने गरेको प्रहरीको भनाइ छ । जिल्लामा प्रहरीले बालविवाह न्यूनीकरणका लागि छापाखाना, पुरोहित, स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत चेतनामूलक कार्यक्रममा सहभागी गराएर न्यूनीकरणका लागि अभियानहरू चलाउँदै आएको छ । गत आवमा त प्रहरीले स्थानीय तहहरूसँगको समन्वयमा जिल्लाका हरेक घरमा बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको थियो । त्यसमा भएको जानकारीका आधारमा बालविवाह हुन लागेको बेला प्रहरीलाई खबर गर्ने गरिएको भए पनि पूर्णरूपमा बालविवाह भने रोकिएको छैन ।

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७८०८:४७

न्यूनतम पारिश्रमिक बढाउने ओलीको घोषणा ! कति ?