वीरगञ्ज – प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ ।
छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो । टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ ।
उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरुलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीहरुको विरुद्धमा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताउनुभयो । प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरुले सम्बन्धीत सबैलाई आग्रह गरेको छ ।
नक्कली चामलको प्रयोग स्वास्थ्यको लागि निकै नै हानिकारक रहेको र यसले प्रजनन प्रणालीमा बाधा पुर्याउनुको साथै पेटसम्बन्धि विभिन्न समस्याहरु निम्त्याउँछ । त्यसैले तपाईंले प्लाष्टिकको चामलबारे थाहा पाउन निकै नै जरुरी छ ।
आज हामी तपाईंलाई यसैबारेमा जानकारी दिन्छौं । तपाईंले प्लाष्टिकको चामल हो वा होइन सजिलै छुट्याउन सक्नुहुन्छ । यसको ४ सरल तरिका निम्नानुसार छन् ।
१) एउटा चम्चामा तेललाई हालेर तातो बनाउनुहोस् र त्यसमा चामल हाल्नुहोस् । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ ।
२) एक चम्चा चामललाई एक ग्लास पानीमा हालेर राम्ररी चलाउनुहोस् । प्लाष्टिकको चामल हो भने , पानीमा तैरिन थाल्छ ।
३) थोरै चामललाई पकाउनुहोस् । यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलका कारण हुनसक्छ ।
४) थोरै चामल लिएर त्यसमा सलाईको काँटीले आगो लगाउनुहोस् । यदि त्यसबाट जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ ।