काँग्रेस नेता खड्काको निधनप्रति शेरबहादुर देउवाको गहिरो दुःख व्यक्त!

काठमाडौँ, बैशाख १९ । नेपाली काँग्रेसका नेता शिवबहादुर खड्काको  आइतबार भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा निधन भएको छ ।

 पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रामेछापको बेथानमा जन्मिनुभएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य थिए। पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आ-न्दोलनमा उनि  लामो समय सक्रिय थिए  । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्काले रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर संगठन गरेका थिए ।

विसं २०४९ मा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित उनले  पाँच वर्ष काम गरेका थिए । खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट खड्कालाई संविधानसभा सदस्य बनाइएको थियो । खड्काले भद्र अवज्ञा, सत्याग्रहका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक संघर्षमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले बताए  । संविधान लेखनमा उनको उल्लेखनीय योगदान रहेको जनाइएको छ ।

खड्काको निधनप्रति सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन्। देउवा लेख्छन, “नेपाली कांग्रेसका नेता एवं मेरा मित्र शिवबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याउनु भएको अतुलनीय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीले एक अनुभवी र अग्रज नेतृत्वलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।”

खड्काको शव आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। खड्काको दाहसंस्कारमा काँग्रेसका केहि नेताहरु र शुभचिन्तक पशुपतिमा उपस्थित भएका थिए । १९९७ सालमा जन्मिएका खड्का काँग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आ-न्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। खड्का रामेछापका पूर्व सभापति एवं जिल्ला विकास समिति समेत भएका थिए ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७८१९:३०

विश्वासको मत लिने प्रधानमन्त्री ओलीको घोषणा !