दक्षिण एसियाकै ‘सेफजोन’ भुटान, अवस्था देखेर विश्व चकित !

काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ ।

अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पु-याइएको थियो ।

भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु भएको छ । भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो ।

हिमनदी र अग्ला पहाडले घेरिएको देशको कतिपय ठाउँ जान सडकसम्म छैन । भुटान सरकार प्रत्येक नागरिकप्रति उत्तरदायी छ । कोरोना संक्रमित भइहाले स्वास्थ्यमा उच्च सतर्कता र सावधानी अपनाइएको छ ।

तर, छिमेकी मुलुक भारतमा दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित भइरहेका छन् । दैनिक कोरोना संक्रमित हुने दरमा भारत पहिलो स्थानमा छ । जहाँ दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ । नेपालमा मात्रै सोमबार ७ हजार ३ सय ८८ संक्रमित थपिए । यो संख्या कोरोना महामारी फैलिएपछि हालसम्मको नयाँ रेकर्ड हो ।

त्यस्तै, सार्क मुलुक पाकिस्तानमा दैनिक ४ हजारको संख्यामा संक्रमित थपिएका छन् । जहाँ ८ लाख ३४ हजार १ सय ४६ संक्रमित भइसकेको छन् । कोरोनाबाट मात्रै १८ हजार १ सय ४९ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा हालसम्म ६० हजार २ सय ८८ संक्रमित भएका छन् । जसमध्ये २ हजार ६ सय ४२ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो समय अफगानस्तिानमा कोरोना संक्रमित हुने दरमा भने केही कमी आएको पाइन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८०७:५३

माओवादीको नाडी छाम्दै ओली, भागबन्डामा परेका सबै पद खोस्दै !