प्रधानमन्त्रीको स्वाब सङ्कलित, अक्सिजनको भरमा कोरोनासित जुध्दै सङ्क्रमित!

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । पिसिआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्वाब सङ्कलन गरिएको हो । उहाँसँगै उहाँका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पिसिआर टेष्ट गरिँदै आएको छ ।

अक्सिजनका भरमा कोरोनासित जुध्दै सङ्क्रमित
दैनिक चारदेखि सात अक्सिजन सिलिण्डर मात्रै भर्न मिल्ने प्लान्ट रहेको अस्पतालमा कोरोना सङ्क्रमणको महामारीमा सङ्क्रमितको उपचार कस्तो होला? सहजै अनुमान गर्न सक्छौं, स्थिति सकसपूर्ण । अक्सिजन आपूर्तीमा सकस, रहेका ६ सघन उपचार कक्ष (आइसियू) शैया  भरिभराउ र अस्पतालको आकस्मिक कक्षमा समेत सङक्रमितहरु भौतारिएका बेला महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारमा रहेका ९० प्रतिशत सङ्क्रमित अक्सिजनका भरमा कोरोनासित लडिरहेका छन् जनशक्ति अपुग हुँदा पनि सङ्क्रमितको सेवामा अहोरात्र खटिएको अस्पतालमा अझै अक्सिजन पुर्याउन सकिएको छैन् ।

“यहाँ लक्षणसहितका उपचारमा रहेका सङ्क्रमित मध्ये ९० प्रतिशत भन्दा बढी अक्सिजन लगाएरै उपचार सम्भव भइरहेको छ ।” अस्पतालका डा. गोविन्द रोकायाले भन्नुभयो–“ अक्सिजन बिना सङ्क्रमितको उपचार नै सकसपूर्ण छ ।”अस्पताललाई दैनिक एकसय भन्दा बढी अक्सिजन आवश्यक भइरहेको उहाँको भनाइ छ । पैसट्ठी भन्दा बढी सङ्क्रमित उपचाररत रहेको अस्पालमा यहाँका समाजसेवी युवा व्यवसायीहरुले दैनिक रुपमा अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेका छन् ।

यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लको अगुवाइमा विभिन्न संघ÷संस्थाहरुले पनि अस्पताललाई दैनिक ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गरारहेका छन् । अस्पतालमा शंकास्पद बिरामीहरु कोरोना परीक्षणका लागि आउनेक्रम बढिरहेको छ भने केही दिनयता अस्पतालबाट निको भएर घर जानेको संख्या पनि सन्तोषजनक रहेको छ ।

अक्सिजन खरिदकै लागि यहाँको भीमदत्तनगरपालिकाले रु २० लाख, बेदकोट नगरपालिकाले रु १० लाख लगायत यहाँका विभिन्न सहकारी र बित्तीय संस्थाहरुले पनि अस्पताललाई सहयोग गरिरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिनुभयो ।यसैगरी भारतबाट गड्डाचौकी नाका हुदै स्वदेश फर्किनेहरुको पनि सीमानाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । त्यहाँ नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको टोलीले अस्थायी होल्डिङ्ग सेन्टर निमार्ण गरिरहेको छ ।“ आइतबारदेखि सञ्चालनमा ल्याइसक्ने गरी होल्डिङ्ग सेन्टर बनाउने काम भइरहेको छ ।” श्रीदल गुल्मका गुल्मपनि सेनानी प्रतीकसिंह कार्कीले भन्नुभयो–“ अब होल्डिङ्ग सेन्टर बनेपछि भारतबाट आउने नेपाली दाजुभाईहरुलाई पनि सहज हुनेछ ।”

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१८:५९

विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण, ४०० सहभागी भएको खुलासा !