आइसियु खोज्दा खोज्दै जान्छ संक्रमितको ज्यान

काठमाडौँ – जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

यो स्थिति भोग्ने यी पुरुष एक्लो व्यक्ति होइनन् । जटिल अवस्थाका सयौं बिरामीले समयमै आइसियु र अक्सिजन पाउन नसकेको अस्पतालहरूले जनाएका छन् । वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धुव्र गैरेका अनुसार उनकै नातेदार एक व्यक्तिका लागि आइसियु भेटिएन । बिरामीलाई गुल्मीबाट काठमाडौं ल्याउन खोजेकोमा आइसियु बेड नभेटेपछि बुटवलमै राख्नुपर्‍यो ।

आफूलाई दैनिक १५ देखि २० वटा फोन आइसियु खोजिदिन आग्रह गर्दै आउने गरेको उनले बताए । आफू वीर अस्पतालको वरिष्ठ चिकित्सक भएर पनि कसैलाई आइसियु खोजिदिन नसकेको उनले बताए । आइसियुको खोजीमा अस्पताल चहार्दाचहार्दै कतिपय बिरामीको मृत्यु भइरहेको छ । उनी भन्छन्, ‘कतिको एम्बुलेन्समै मृत्यु हुन्छ, कतिको वीरको आकस्मिक कक्षमा पुग्नेबित्तिकै मृत्यु हुन्छ ।’

आकस्मिक कक्षमा पुगेर आइसियु कुर्ने क्रममा कतिको त्यहीं नै मृत्यु हुने गरेको डा. गैरेले बताए । उनका अनुसार बेड र आइसियुको खोजीमा अस्पतालका कोभिड उपचार संयोजक डा. अच्युत कार्कीलाई दैनिक ५ सयभन्दा बढी फोन आएपछि उनले फोन बोक्नै छाडेका छन् । चार दिनदेखि अस्पतालमा यस्तो अवस्था रहेको उनले बताए ।

निजी अस्पतालमा समेत बेड र आइसियु सबै भरिएपछि शुक्रबार रातभरिमा १७ वटा बेड थप्न लागेको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । उक्त अस्पतालमा एक दर्जनभन्दा बढी बिरामी आकस्मिक कक्षमा बेडको पर्खाइमा छन् । राजधानीको निजी कोभिड अस्पताल ह्याम्सले पनि आइसियुको अभावमा बिरामीले पर्खेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य आपत्कालीन केन्द्र प्रमुख डा. समिरकुमार अधिकारीले उपत्यकाका कोभिड अस्पतालमा आइसियु र जनरल दुवै बेड खालि हुनै कठिन रहेको बताए । उनले भने, ‘अब उपत्यकामा मै मर्न लागे पनि आइसियु पाउने स्थिति छैन ।’

सरकारले उपत्यकालाई लक्षित गरी हजारभन्दा बढी बेड र आइसियु थप गरे पनि बिरामीले भरिभराउ भएपछि गम्भीर स्थिति आएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले छिमेकी राष्ट्र र नेपालका सीमा सहरमा दोस्रो लहरको कोरोना फैलिएसँगै उच्च सतर्कता अपनाउन भने पनि सबै पक्षबाट बेवास्ता भएपछि अहिलेको स्थिति आएको उनको भनाइ छ । ‘हामीले सबै बन्द गर्नु पर्छ, भीडभाड हुने कार्यक्रम बन्द गरौं भन्यौं, कसैले टेरेनन्’, उनले भने । यसबीचमा बिहे, भोज, जात्रा र जमघटका कार्यक्रम नरोकिएकाले उपत्यकामा तीव्र संक्रमण फैलिएको उनले बताए ।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८०९:१७

धमाधम आउँदैछ हकप्रद सेयर ! [सूची सहित]