आइतबार सेरी-ए को ३५ चरणको खेलमा पछिल्लो सिजनको विजेता युभेन्टस एसी मिलानसँग आफ्नै मैदानमा ३-० को हार बेहोर्न बाध्य भयो। लगातार ९ पटक सेरी-ए उपाधि जितेको युभे यो हारसँगै ३ खेल बाँकी रहँदा ५ औं स्थानमा रहेको छ। हाल युभेन्टस चौंथो स्थानको एसी मिलान भन्दा ३ अंक पछाडी रहेको छ। एक खेल बढी खेलेको नापोलीको ७३ अंक रहेको छ।

यस्तोमा गत ९ सिजनको विजेता युभे यस सिजन भने च्याम्पियन्स लिगमा स्थानको लागि पनि छनौट नहुने सम्भावना बढेको छ। हालको अवस्था हेर्दा लिगका अन्तिम तीन खेल जितेर पनि युभेन्टसलाई अन्य नतिजामा निर्भर हुने पर्ने देखिन्छ।

एटालान्टा, एसी मिलान र नापोली मध्ये कुनै एक क्लबले खेल हारेको अवस्था र युभेन्टसले बाँकी रहेको सबै खेल जितेको अवस्थामा मात्र क्लबको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना रहनेछ। अन्य तीन क्लबले आफ्ना सबै खेलमा जीत हात पारेको खण्डमा भने ओल्ड लेडीले अर्को सिजन युरोपा लिग खेल्ने पक्का हुने थियो। तर अन्तिम चरणको खेलमा एटालान्टा र एसी मिलान बीच खेल हुने भएकोले यी दुई मध्ये एकले भने सबै खेल जित्न सक्ने छैन, जुन युभेको लागि फाइदा हुनेछ। तर उक्त खेल बराबरी भए र अन्य खेलमा तीनौ टोली विजयी भए पनि युभे च्याम्पियन्स लिगमा छनौट हुने छैन।

युभेले च्याम्पियन्स लिग नखेल्ने सम्भवना बढी रहँदा थुप्रै मानिसले सामाजिक सञ्जालमा क्लबका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको मजाक उडाइरहेका छन्। कसैले रोनाल्डोले युभेन्टससँग अनुबन्ध भएपछि ‘आफूले युभेन्टसलाई च्याम्पियन्स लिग उपाधि जिताउन सक्ने प्रयास गर्ने’ भनाइको मजाक उडाइरहेका छन् भने कसैले अर्को सिजन मेस्सीले च्याम्पियन्स लिगमा गोल गरेको र रोनाल्डोले युरोपा लिगमा गोल गरेको देख्न पाउँदा मज्जा आउने समेत भनेका छन्।

मेस्सीको कप्तानीमा रहेको बार्सिलोना भने च्याम्पियन्स लिगको लागि छनौट भइसकेको छ। गयराती लेभान्टेसँग ३-३ को बराबरी खेलेसँगै बार्साको उपाधे जित्ने सपना भने लगभग समाप्त भएको छ।

