काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण दर भारतमा भन्दा पनि बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबारको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका विशेषज्ञ डा. अर्चना श्रेष्ठले नेपालमा कोरोनाको संक्रमण दर भारतमा भन्दा पनि उच्च रहेको बताएकी हुन्। उनका अनुसार नेपालमा कोभिड-१९ को कारण हुने मृ-त्युदर पनि भारतको भन्दा धेरै रहेको छ। नेपालमा हाल कोरोना संक्रमितको संख्या प्रति १० लाखमा ३०४ जना रहेको छ। त्यस्तै, भारतमा यो तथ्यांक प्रति १० लाखमा २४० रहेको छ।
त्यस्तै, भारतमा हाल कोरोना संक्रमणको कारण भएको मृ-त्युदर २.५ रहेको छ भने नेपालमा उक्त दर ३.३ रहेको डा. श्रेष्ठले जानकारी दिइन्। त्यस्तै, परीक्षण गरिएकामा संक्रमण देखिने टेस्ट पोजिटिभिटी दर नेपालमा ४५.१ प्रतिशत रहेको छ भने भारतमा २२.६ प्रतिशत रहेको छ ।
बुधबार देशभर ९ हजार ३०५ कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घन्टामा ९ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ७८६ जनाको परीक्षण गर्दा ९ हजार ३०५ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । योसँगै देशभर कोरोना संक्रमण हुनेको कुल संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ।
२० हजार ३६२ को पीसीआर गर्दा ९ हजार २३८ र ४२४ जनाको एन्टीजेन गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो । कूल सङ्क्रमितमध्ये हाल १ लाख १ हजार ६२४ सक्रिय सङ्क्रमित छन् । त्यस्तै कूल सङ्क्रमितमध्ये ३ हजार ९२४ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा ३ हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार १६८ सङ्क्रमितको मृ-त्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृ-त्यु हुने सङ्क्रमितको सङ्ख्या ४ हजार २५२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको मन्त्रालयले जनाएको छ ।

