काठमाडौँ – प्रत्येक वर्ष वैशाखशुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व शुक्रबार मनाइँदैछ । सत्ययुगमा अक्षय तृतीयाका दिन दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । जस कारण विवाहका लागि अक्षय तृतीया लग्न तथा साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।
शास्त्र अनुसार अक्षय तृतीयाको दिन विवाहको लागि अबूझ मुहूर्त मानिन्छ । अर्थात यस दिन विवाह गर्नको लागि कुनै किसिमका मुहुर्त या दोष-काल हेर्नु आवश्यक पर्दैन। यस्तोमा यस दिन बिना कुनै कुण्डली मिलान विवाह गर्न सकिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।
यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि भोलि मनाइदै छ। अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएका हुन्। परशुराम भगवान् विष्णुको छैटौँ अवतार रहेको धार्मिक विश्वास छ।
अक्षय तृतीयाको दिन सुन र चाँदी खरिदको लागि निकै शुभ मानिन्छ । धार्मिक विश्वासका अनुसार यस सुन या कुनै धातु खरिद गर्दा अत्यन्तै शुभ फल दिने गर्छ । साथै यस भाँडाकुडा, गाडी तथा घर-जग्गा पनि खरिद गर्नु शुभ मानिन्छ ।