युभेन्टस भर्सेस इन्टर: च्याम्पियन्स लिगमा स्थान बनाउन जित्ने पर्ने युभेन्टसको बाध्यता!

एजेन्सी – इटालियन सिरी ‘ए’ को निकै महत्त्वपूर्ण मानिएको खेलमा युभेन्टसले घरेलु मैदानमा यो सिजनको च्याम्पियन बनिसकेको इन्टर मिलानको सामना गर्दैछ ।

खेल एलिएन्ज स्टेडियम टोरिनोमा नेपाली समय अनुसार राति ९:४५ बजे हुनेछ । युभेन्टसलाई अर्काे सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनको लागि सम्भावना जीवितै राख्न यो खेलमा जित निकाल्नुपर्ने बाध्यता छ । त्यसैले युभेन्टस च्याम्पियन इन्टरविरुद्ध ३ अंकको लागि खेल्नेछ । हारले युभेन्टसको शीर्ष चारको यात्रा न्युन हुनेछ ।

युभेन्टस ३६ खेलबाट ७२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । युभेन्टसलाई आफुले जितेर मात्रै पनि शीर्ष चारमा पर्ने सम्भावना न्युन छ । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ । शीर्ष चारको दौडमा रहेको एटलान्टा र एसी मिलानको समान ७५ तथा नेपोलीको ७३ अंक छ । एक खेल कम खेलेको लाजियोको ६७ अंक छ ।

टोलीसँग स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, फेडरिको चिइसा, आड्रिएन राविओट, अर्थर, जुआन कोर्डाडो, एलेक्स सान्द्रो, जर्जियो चिलियानी, म्याथ्थिज डि लेग्ट, डानिलो र गोलरक्षक वजएिसच सेजेस्नी रहेका छन् । यस्तै डिजान कुलुसेभ्स्की, लियोनाद्रो बोनुची, आरोन राम्से, अल्भारो मोराटा, रोड्रिगो बेन्टानकर र वेस्टन म्याकिन्नी पनि टोलीमा रहेका छन् ।

यता, च्याम्पियन बनिसकेको इन्टर युभेन्टसलाई उसकै मैदानमा हराउँने लक्ष्यमा मैदानमा उत्रनेछ । टोलीसँग लयमा रहेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु, एलेक्सिस सान्चेज, इभान पेरिसिस, माटियस भेसिनो, मार्सेलो ब्रोजोभिक, निकोले बरेल्ला, माटियो डार्मिएन, डानिलो डि एम्ब्रुसो, एन्ड्रिया रानोचिया र गोलरक्षक समिर आन्डानोभिक र लोउटारो मार्टिनेज रहेका छन् ।

यि दुइ टोलीको पछिल्लो २७ भेटमा युभेन्टस १४ खेलमा विजयी भएको छ । ४ खेल इन्टरले आफ्नो पक्षमा पार्दा ९ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक गत फेब्रुअरीमा कोपा इटालियामा यि दुई टोलीले प्रतिस्पर्धा गर्दा दोस्रो लेग गोलरहित बराबरीमा सकिएपनि पहिलो लेगमा युभेन्टस २–१ ले विजयी भएको थियो । त्यसअघि जनवरीमा इन्टर २–० ले विजयी भएको थियो ।

प्रकाशित : शनिबार, जेठ ०१, २०७८१५:३०

एट्लेटिको, रियल र बार्सिलोना एकै समयमा खेल्दै, आजै लाग्ला त लिग च्याम्पियनको टुंगो ?