काठमाडौँ, जेठ २ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको शपथ विरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा ओलीले दुइटा महत्वपूर्ण वाक्यांश भन्न छुटाएका थिए।
राष्ट्रपति विद्या भण्डारीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भनेर शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए। ओलीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्वक’ मात्रै भनेपछि राष्ट्रपति भण्डारीले पुन ‘प्रतिज्ञा गर्छु’ भनेर दोहोर्याएकी थिइन् तर ओलीले ‘त्यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाएका थिए । ओलीको यस्तो जवाफ सुनेर राष्ट्रपति भण्डारी हाँसेकी थिइन्।
साथै ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्। ओलीले शपथ ग्रहण गर्दा जानाजान वाक्यांश छुटाएर शपथको गरिमा लत्याएको एक पूर्वप्रधानन्यायाधीशले बताएका छन् । साथै उनले राष्ट्रपतिको समेत मानमर्दन गरेको आरोप लागेको छ। प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले शपथ बदर गर्न माग गर्दै अधिवक्ता चन्द्रकान्त ज्ञवालीले रिट पेश गरेको महाशाखा स्रोतले बताएको छ।
अहिले प्रधानमन्त्रीले लिनुपर्ने शपथको भाषा यस्तो हुन्छ- ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही, मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, इमानदारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा जानकारीमा आएको कुरा पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दाबाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन।’

