एजेन्सी – इटालियन सिरी ए अन्तर्गत नेपोलीले आइतबारको खेलमा फिओरेन्टिनालाई पराजित गर्दै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । अवे मैदानमा भएको खेलमा नेपोलीले २-० को जित दर्ता गरेको हो ।
नेपोलीको जितमा कप्तान लोरेन्जो इन्सिग्नेले प्रभावशाली प्रदर्शन गरेका थिए । पहिलो हाफमा उनको फ्रिकिक पोस्टमा लागेर फर्कंदा नेपोलीले अग्रता लिने अवसर चुकाएको थियो । तर दोस्रो हाफमा उनैले गोल गर्दै अग्रता दिलाए ।
५७ औं मिनेटमा प्राप्त पेनाल्टीमा इन्सिग्ने चुकेपनि उनले रिबाउन्डमा गोल गरेका थिए । ६७ औं मिनेटमा नेपोलीले अग्रता दोब्बर पार्यो । इन्सिग्नेको पासमा पिटर जिलेन्सकीको प्रहार डीफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस जितसँगै नेपोली अब च्याम्पियन्स लिगमा छनोट हुनबाट एक जित टाढा छ ।
नेपोली ३७ खेलमा ७६ अंकसाथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान अंक जोडेको एसी मिलान एक खेल कम खेल्दै चौथो स्थानमा छ ।
नेपोलीको जितले पाँचौ स्थानमा झरेको युभेन्टसको ७५ अंक छ र टोलीले अब अन्तिम चरणमा बोलोग्नाको मैदानमा खेल्नेछ । नेपोलीले घरेलु मैदानमा भेरोनाको सामना गर्नेछ ।

