बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा क्लब कप्तानको सम्भवत अन्तिम खेलमा बार्सा सेल्टा भिगोसँग २-१ ले पराजित हुँदा क्लबको लालिगा उपाधि जित्ने सपना पनि समाप्त भएको छ। जसपछि बोल्दै क्लबका मुख्य प्राशिक्षक रोनाल्ड कोमनले बार्सिलोनालाई मेस्सी बिना खेल्न असम्भव रहेको बताएका छन्।

मेस्सीको बार्सिलोनासँग रहेको हालको सम्झौता जारी सिजनको अन्त्यसँगै सकिनेछ। यस्तोमा एक अर्को निराशजनक सिजनको कारण मेस्सी क्लबमा नबस्ने सम्भावना बढ्दै गएको छ। बार्सिलोना गयरातिको हारसँगै लालिगा उपाधि होडबाट बाहिरिएको छ भने च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको थियो। यस सिजन कोपा डेल रे को उपाधि जितेको बार्सिलोनाको सिजन भने अत्यन्त निराशजनक रह्यो।

सेल्टा विरुद्धको खेलमा मेस्सीले यस सिजन ललिगामा ३० औं गोल गरेका थिए। तर उनक्को टोलीले उक्त खेल भने अग्रता लिएको अवस्थाबाट हार्न पुग्यो। हारपछि बोल्दै कोमनले भने,”मेस्सीले लालिगामा ३० गोल गरेका छन् र निकै महत्वपूर्ण अंक बटुलेका छन्। यो प्रश्न मेस्सीको लागि नै हो तर आशा छ कि उनी बार्सा मै बस्नेछन्। तर उनी भएनन् भने कसले यति धेरै गोल गर्नेछ भन्नेमा हामीलाई शंका छ।”

मेस्सीले बार्सामा रहनको लागि एक निकै प्रतिस्पर्धात्मक टोली माग गरेका छन् जसले हरेक प्रतियोगितामा उपाधिको लागि दाबेदारी प्रश्तुत गर्न सकोस्। यस्तो भएको खण्डमा मात्र मेस्सीले बार्सिलोना नछाड्ने बुझिएको छ। म्यानचेस्टर सिटी र पीएसजी दुबै मेस्सीलाई क्लब भित्र्याउने दाउमा रहेका छन्।

