“यसरी कोरोना भाइरस फैलन्छ भन्ने मैले अलिकतिपनि सोचेको थिइन्”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कानुनी प्रक्रिया अलमलका कारण जनताको ज्यान जाने अवस्था आउन नदिन’ निर्देशन दिएका छन् ।

‘हाम्रा प्रक्रियामा अल्झिएर कुनै नागरिकको ज्यान जान हुँदैन,’ प्रधानमन्त्री ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशन समिति (सीसीएमसी)को आइतबारको बैठकमा भने, ‘तल्काल नागरिकको ज्यान बचाउनतिर लाग्नुहोस्, कानुनी प्रक्रियाका कारण रोक्न मिल्दैन ।’

नेपालमा ‘यसरी कोरोना भाइरस फैलन्छ’ भन्ने नसोचेको बताउँदै उनले ‘अलिअलि मात्र सर्छ’ भन्ने लागेको पनि बताए । ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेको’ उल्लेख गर्दै उनले ‘कोरोना संक्रमण अहिलेजस्तो फैलिन्छ भन्ने’ नलागेको जिकिर गरे ।

‘यस रूपमा कोभिड बढ्छ भन्ने ठानेकै थिइनँ, के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ,’ उनले अगाडि भने, ‘त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो ।’

गत वर्ष कोरोना पहिलो लहर चल्दा उनले बेसार पानी, अम्बाको पात उमालेर ‘गार्गल’ गर्दा निको हुन्छ भन्दै सामान्य रूपमा लिएका थिए । संसद्मा समेत उनले ‘कोरोना सामान्य’ भएको जिकिर गरेका थिए ।

कोरोना दोस्रो लहरबाट दैनिक ९ हजारको संख्यामा संक्रमित बढिरहेको र २ सयभन्दा बढीले ज्यान गुमाइरहेका छन् । अस्पतालमा बेड र अक्सिजन नपाउँदा मृतक संख्या बढ्दो छ ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणमा विभिन्न सरकारी निकायबीच समन्वय अभाव देखिएको जनाएका छन् । नेपालमा रहेका अक्सिजन प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र बाँकी आयात गर्नुपर्ने उनको जोड छ ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८०८:३३

एक्लो हुँदै माधव नेपाल, कसैले पनि विश्वास गर्न छाडे !