बार्सिलोनामा क्लब कप्तान लियोनल मेस्सीको भविष्यलाई लिएर गत सिजनबाट नै अनिश्चितता छाइरहेको छ। यस्तोमा क्लब लालिगा उपाधि होडबाट बाहिरिएसँगै यो चर्चा फेरी एकपटक ताजा भएको छ। गयराती बार्सिलोना आफ्नै घारेलु मैदान क्याम्प नाउमा सेल्टा भिगोसँग २-१ ले पराजित हुन पुग्यो।

महत्वपूर्ण खेलहरुमा निकै फितलो प्रदर्शन गरेको बार्सिलोनालाई अर्को सिजन पनि कुनै प्रतियोगिताको प्रमुख दाबेदारको रूपमा हेरिएको छैन। क्लबमा केहि महत्वपूर्ण परिवर्तनको आशा गरिएको भएता पनि क्लब निकै घाटामा रहेको कारण ठूलो परिवर्तन निकै कठिन देखिन्छ। यस्तोमा गत सिजन पनि बार्सिलोना छाड्ने असफल प्रयास गरेका मेस्सीले बार्सामा प्रतिस्पर्धात्मक टोली नपाए उनले क्लब छाड्ने निश्चित रहेको धेरैको बुझाइ छ।

यस्तोमा, धेरै फुटबल विश्लेषक तथा प्रशंसकले मेस्सीले सायद क्याम्प नाउमा बार्सिलोनाको जर्सीमा अन्तिम खेल खेलेको आकलन पनि गरेका छन्। सेल्टा विरुद्धको खेलपछि मेस्सी निकै निराश देखिन्थे। उनी खेल सकिने बित्तिकै सिधै ड्रेसिङ्ग रूम तर्फ लागेका थिए। यस सिजन लिगमा ३० गोल गरेका मेस्सीले अन्य कुनै पनि खेलाडीको उल्लेखनीय सहयोग प्राप्त नगरेको भन्दै बार्सिलोना मेस्सीको नायक नभएको धेरैले विश्वास गरेका छन्। बार्सिलोनासँग मेस्सीको सम्झौता अबको केही महिना मै सकिनेछ। जसपछि उनी कुनै पनि क्लबमा जानको लागि फुकुवा हुनेछन्।

गयरातीको हारसँगै बार्सिलोनाको ३७ खेलबाट ७६ अंक रहेको छ। दोस्रो स्थानको रियल म्याड्रिडको ८१ अंक रहेको छ भने लिगको एक खेल बाँकी रहँदा एथलेटिको म्याड्रिड ८३ अंकका साथ पहिलो स्थानमा रहेको छ। बार्सिलोना भने तेस्रो स्थानमा रहेको छ।

