एज्स्न्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले लालिगाको शिर्ष गोलकर्ता रहँदै पिचिची अवार्ड जित्ने पक्का जस्तै भएको छ। आइतबार राति सेल्टा डि भिगोसँग पराजित हुँदा बार्सिलोनाका लागि एक गोल गरेका मेस्सीले पिचिची अवार्ड जित्ने पक्का भएको हो।
सेल्टा डि भिगो विरुद्ध गरेको गोल सँगै मेस्सीको जारी सिजनमा लालिगा गोल संख्या ३० पुगेको छ। मेस्सी दोस्रो स्थानमा रहेका जेरार्ड मोरेनो भन्दा ७ गोलले अगाडी छन्।
भिल्लारियलले मात्र एक खेल्न बाँकि रहेको अवस्थामा उनले २३ गोलबाट मेस्सीको गोल संख्यालाई भेटाउन असम्भव देखिन्छ। त्यस्तै लालिगा गोलकर्ताको सूचीको तेस्रो स्थानमा रियल म्याड्रिडका करिम बेन्जेमा छन्। उनले पनि मेस्सीलाई भेटाउने सम्भावना देखिँदैन।
यस अगाडी मेस्सीले लालिगाको शिर्ष गोलकर्ताको रुपमा सात पटक पिचिची अवार्ड जितिसकेका छन्। यो कुनै पनि खेलाडीले जितेको सर्वाधिक पिचिची अवार्ड हो। यस वर्ष जित्दा त्यो संख्या ८ पुग्नेछ।
९ औं पटक ३० गोल
यस सिजन लालिगामा गोल संख्या ३० पुर्याएसँगै मेस्सी ९ सिजनमा ३० गोल गर्ने एक्ला खेलाडी बनेका छन्। मेस्सीले यस भन्दा अगाडी ८ सिजनमा ३० गोल पुर्याइसकेका थिए।
मेस्सीले यस भन्दा अगाडी २००९/१० मा ३० गोल, २०१०/११(३१ गोल), २०११/१२(५० गोल) २०१२/१३(४६ गोल), २०१४/१५(४३ गोल), २०१६/१७(३७ गोल), २०१७/१८(३४ गोल) र २०१८/१९मा ३६ गोल गरेका थिए।

