एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको ३७ औं चरणको खेलमा जित दर्ता गर्दै एटलेटिको म्याड्रिड लिगको शीर्षस्थानमा कायम रह्यो। अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा एटलेटिकोले ओसासुना विरुद्ध पुनरागमन जित निकाल्यो। एटलेटिकोको उक्त्रिष्ट पुनरागमन सँगै ओसासुना २-१ ले पराजित भयो।
एटलेटिको र ओसासुना बीचको खेलमा भएका सम्पूर्ण गोल १३ मिनेटको अन्तरमा भएको थियो। जित्नै पर्ने दबावमा रहेको एटलेटिकोले खेललाई पकडमा राखेपनि पहिको`पहिलो गोल ओसासुनाले गरेको थियो।
ओसासुनाका आन्टे बुडिमिरले दोस्रो हाफको ७५ औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । उनले रुबेन गार्सियाको क्रसमा हेडरमार्फत गोल गरेका थिए । गोल खाएको ७ मिनेट नबित्दै एटलेटिकोले बराबरी गोल फर्काएको थियो । जोआओ फेलिक्सको उत्कृष्ट चिप पासलाई रेनान लोडीले सदुपयोग गर्दै गोल गरेका थिए ।
त्यस्तै एटलेटिकोका लागि दोस्रो तथा निर्णायक गोल लुइस सुआरेजले गरे। खेलको २ मिनेट समय बाँकी रहँदा उनले यानिक फरेरा करास्कोको लो क्रसलाई गोलमा परिणत गरे।
सुआरेजले गरेको गोलकै कारण एटलेटिको लालिगाको शिर्ष स्थानमा टिक्न सफल भएको छ। ओसासुना विरुद्धको खेलमा हार अथव अबरबरी बेहोरेको भए रियललाई फाइदा हुने थियो। तर, आइतबारको जित पश्चात एटलेटिको शिर्ष स्थानमा कायम छ।
लालिगा च्याम्पियन हुन एटलेटिकोलाई के आवश्यक छ ?
हाल लालिगाको शिर्षस्थानमा रहेको एटलेटिकोको ८३ अंक छ। उसले ३७ खेलबाट ८३ अंक बटुलेको हो। एटलेटिको भन्दा रियल २ अंकले पछाडी छ। उसको ८१ अंक छ। एट्लेटिकोले रियल भालाडोलिड र रियलले भिल्लारियलसँग खेल्न बाँकी छ । रियल भालाडोलिड विरुद्धको खेलमा विजयी भएको खण्डमा एट्लेटिको लालिगा च्याम्पियन बन्नेछ। उक्त खेलमा विजयी भए रियलको हार जितले उसलाई कुनै पनि असर पार्ने छैन।
तर भालाडोलिड विरुद्ध बराबरी खेलेको खण्डमा च्याम्पियन बन्न एटलेटिकोलाई रियलको खेलमा भर पर्नुपर्नेछ। त्यस्तो अवस्थामा रियलले हारेमा अथवा बराबरी खेलेमा एटलेटिको च्याम्पियन बन्नेछ। रियलले भिल्लारियल विरुद्ध जिते र एटलेटिकोले बराबरी खेले हेड टु हेडको आधारमा रियल च्याम्पियन बन्नेछ।
त्यस्तै एटलेटिको हारेको खण्डमा च्याम्पियन बन्ने रियलको सम्भावना बढ्नेछ। यस्तो अवस्थामा रियल च्याम्पियन बन्नको लागि जित्ने पर्ने दबावमा हुनेछ। त्यस्तो अवस्थामा रियल बराबरीमै रोकिएको खण्डमा एटलेटिको च्याम्पियन बन्नेछ।

