एथलेटिको म्याड्रिडका गोलकिपर ज्यान ओब्लाकले मोडर्न डे ग्रेट द्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको बारेमा बोलेका छन्। २०१४ देखि एथलेटिको म्याड्रिडबाट खेल्दै आएको ओब्लाक आफ्नो करियरको पहिलो लालिगा उपाधि जित्ने दौडमा रहेका छन्। लिगमा बाँकी एक खेल जितेको खण्डमा एथलेटिको च्याम्पियन बन्नेछ।

स्पेनिस क्यापिटलमा आफूलाई विश्वका बेस्ट गोलकिपरको रूपमा विकास गरेका ओब्लाकले थुप्रै पटक मेस्सी र रोनाल्डोको सामना गरेका छन्। बार्सिलोनाका कप्तान लियोनल मेस्सी र ओब्लाक एकै लिगमा खेल्ने गर्छन् भने रोनाल्डो पनि २०१८ सम्म लालिगा मै थिए। ११ पटकका ब्यालुन डी ओर विजेता यी दुई विरुद्द ओब्लाकले कति पटक उत्कृष्ट बचाउ गरेका छन् भने कतिपय समय उनीहरुलाई रोक्न सकेनन्।

२८ वर्षीय स्लोभेनियन गोलकिपरलाई आफ्नो ५-ए-साइड टोलीमा को-को रहनेछन् भनेर सोध्दा गोलसँग उनले भने,”यो निकै गार्हो प्रश्नको तर पक्कै पनि मैले सधैं भनेको मेस्सी। उनि जस्तो अरु कोहि पनि छैन। मेस्सी सबैभन्दा उच्च स्तरमा छन्। मेरो लागि उनी सर्वोत्कृष्ट हुन्।”

मेस्सीलाई आफूले देखेको सबैभन्दा उत्कृष्ट मान्ने ओब्लाकले उक्त टोलीमा अर्को खेलाडी मेस्सीका चिर-प्रतिद्वन्दी युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोलाई चुनेका छन्। उनका अनुसार मेस्सी र रोनाल्डो मिलेर फुटबल इतिहासमा एक अमर कथा लेख्न सफल भएका छन् जसको लागि हामीले यी दुई स्टारको सम्मान गर्नैपर्छ।

उनले भने,”अरु भन्नको लागि अझ गाह्रो हुन्छ। तर यदि उक्त टिममा म गोलकिपर हुन्छु भने म डिफेन्डरको रूपमा साभिक, हिमिनेज, गोडीन, फिलिपेलाई रोज्नेछु। मैले अझ केहि नाम लिन सक्छु तर सबैनै निकै उत्कृष्ट छन्।”

विश्वका सर्वोत्कृष्ट मध्ये एक मानिने ओब्लाक २०१४ मा पोर्चुगिज क्लब बेन्फिकाबाट एथलेटिको म्याड्रिडसँग अनुबन्ध भएका थिए। स्पेनिस महारथीको लागि उनले २२० भन्दा बढी खेल खेलिसकेका छन्। २२ मे शनिबार रियल भालाडोलिड विरुद्दको खेल जितेका ओब्लाक र एथलेटिको म्याड्रिड २०१३ पछि पहिलो पटक स्पेनिस च्याम्पियन बन्नेछ।

