रोनाल्डोको नजरमा ‘मेस्सी-क्रिस्टियानो’ पछि यी दुई युवा खेलाडी बन्नेछन् विश्वकै सर्वोत्कृष्ट खेलाडी !

फुटबल जगतमा पछिल्लो १५ वर्ष बार्सिलोना स्टार लियोनल मेस्सी र युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले एकक्षत्र राज गर्न सफल भए। पछिल्लो १२ मध्ये ११ ब्यालुन डी ओर जितेका यी दुई महान् खेलाडी आफ्नो करियरको अन्त्यतिर आइपुगेका छन्। रोनाल्डो ३६ वर्ष भए भने मेस्सी केहि महिनामै ३४ वर्षको हुनेछन्।

आधुनिक पुस्ताका सबैभन्दा उत्कृष्ट दुई खेलाडी आफ्नो करियरको अन्त्य तर्फ आउँदै गर्दा फुटबल जगतमा केहि यस्ता प्रतिभावान युवा खेलाडीहरुको उदय भएको छ जसलाई यी दुई खेलाडीको उत्तराधिकारीको रूपमा हेर्न थालिएको छ।

अब यसमा स्वयम् क्रिस्टियानो रोनाल्डोले पनि बोलेका छन्। लाइभस्कोरको आधिकारिक ग्लोबल ब्रान्ड एम्बेसेडरको अनावरणमा रोनाल्डोलाई नयाँ पुस्ताका एक खेलाडी जसमा पछि गएर विश्वको सर्वश्रेष्ठ हुने सम्भावना रहेको खेलाडीको बारेमा सोधियो। यसमा रोनाल्डोले एक मात्र खेलाडीको नाम लिन भने सकेनन्।

रोनाल्डोले भने,”एक खेलाडीको मात्र नाम लिन निकै गाह्रो छ कि यहि खेलाडी पछी गएर सर्वोत्कृष्ट बन्छ भनेर। तर नयाँ पुस्ताका युवा खेलाडीलाई देख्दा निकै उत्साहित भइन्छ, जस्तै: किलियन एम्बाप्पे र एर्लिंग हालाण्ड।”

एक-दुई सिजन उत्कृष्ट प्रदर्शन गरेर मात्र सर्वश्रेष्ठ नहुने तर त्यसको लागि लामो समयको लागि खेल क्षेत्रमा उच्च प्रदर्शन गर्न गर्नु पर्ने रोनाल्डोको भनाइ छ। ५ पटकका ब्यालुन डी ओर विजेताले त्यसको लागि निकै कडा परिश्रम गर्नुपर्ने बताए।

रेडबुल साल्सबर्गबाट युरोपमा उदाएका हालाण्डले टर्किस क्लब र अब जर्मन क्लब बोरुसिया डर्टमण्डका लागि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। त्यस्तै, एम्बाप्पेले केहि लामो समय देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले २२ वर्षको उमेरमा नै विश्वकप, ३ लिग उपाधि लगायत थुप्रै सफलता हात पारिसकेका छन्।

प्रकाशित : बुधबार, जेठ ०५, २०७८१२:५९

हालाण्ड भित्र्याउने योजनामा रहेको बार्सिलोनालाई झड्का !